शुक्रबार, ७ वैशाख २०८१

बीमा क्षेत्र भव्य र उज्ज्वल छ, लगानीकर्ता ढुक्क हुनुहोस्

चिरञ्जीवी चापागाईं, अध्यक्ष, बीमा समिति

समयपोष्ट २०७६ भदौ १६ गते १३:०६

Advertisement

नेपालको बीमा क्षेत्रको दुई वर्षको समीक्षा गर्दा केही तथ्यांक हेर्नुपर्ने हुन्छ । एउटा बीमाको दायरा कति नेपालीसम्म पुुग्यो ? त्यसलाई जीवन बीमाको पोलिसीले निर्णय गर्छ । वैदेशिक रोजगारसमेत जोडेर दुुई वर्षअगाडि लगभग १० प्रतिशतको हाराहारी नेपालीमा बीमा पुुगेको थियो । वैदेशिक रोजगारसमेतलाई जोडेर २०७६ असारको प्रारम्भिक तथ्यांक हेर्दा २५ प्रतिशत नेपालीमा बीमा पुुगेको छ । वैदेशिक रोजगारीलाई छोड्ने हो भने आठ प्रतिशतबाट हामी १९ प्रतिशतमा पुुगेका छौँ । यसको मतलब नेपाली जनतामा बीमाको दायरा व्यापक वृद्धि भएको छ ।

दुुई वर्षअगाडि जीवन बीमातर्फ वार्षिक करिब ३२ अर्ब प्रिमियम संकलन र निर्जीवनतर्फ १३ अर्ब थियो भने २०७६ असारसम्म आइपुग्दा जीवन बीमातर्फ ७६ अर्ब र निर्जीवनतर्फ २६ अर्ब गर्दा १०२ अर्ब बीमा प्रिमियम संकलन भएको छ ।

दोस्रो तथ्यांक भनेको बीमा प्रिमियम संकलनमा कति प्रतिशतले बढ्यो भन्ने हो । त्यो हेर्दा दुुई वर्षअगाडि जीवन बीमातर्फ वार्षिक करिब ३२ अर्ब प्रिमियम संकलन र निर्जीवनतर्फ १३ अर्ब थियो भने २०७६ असारसम्म आइपुग्दा जीवन बीमातर्फ ७६ अर्ब र निर्जीवनतर्फ २६ अर्ब गर्दा १०२ अर्ब बीमा प्रिमियम संकलन भएको छ । बीमा प्रिमियमलाई हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार हेर्ने भनेको कुल गार्हस्थ उत्पादन बीमा प्रिमियमको योगदान कति रह्यो भनेर हो । दुुई वर्षअगाडि १.०३ प्रतिशत थियो भने अहिले तीन प्रतिशतको हाराहारी पुुगेको छ ।

यी तथ्यांकले बीमाको दायरा, गार्हस्थ उत्पादनमा बीमाको योगदान उल्लेख्य छ भन्ने देखाउँछ । अर्को तथ्यांक भनेको कुल वित्तीय क्षेत्रको सम्पत्ति जसमा बैंक, बीमा, सहकारी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष सबै पर्छन् । त्यसमा बीमा क्षेत्रको योगदान कति छ भनेर हामीले हिसाब गर्नुपर्ने हुन्छ । असारको तथ्यांक आउने क्रममा छ । गत असारमा करिब छ प्रतिशत थियो । दुुई वर्षअगाडि चार प्रतिशतको हाराहारी थियो भने यो असारमा हाम्रो अनुमान वित्तीय क्षेत्रको सम्पत्तिमा बीमाको योगदान आठ प्रतिशत हुन्छ भन्ने छ । यसरी यी तीन तथ्यांक हेर्दा यो दुुई वर्ष बीमा क्षेत्रका लागि उल्लेख्य वर्षका रूपमा रहेको छ ।

लगानीको दायरा विस्तार

अनुुगमन, नियमन, सुपरिवेक्षणलगायत कानुुनी अधिकारसमेत भएको नियामक निकाय बीमा समिति हो । दुुई वर्षअगाडि कुनै मानिसले उजुरी दियो भने मात्र त्यो बीमा कम्पनीको निरीक्षण हुने चलन थियो । नियमनतर्फ हाम्रो नियमनका जुन निर्देशन हुन्, यी अलि परम्परागत, संकुचित धारणका थिए तर यो दुुई वर्षको अवधिमा हामीले त्यसमा व्यापक परिवर्तन गरेका छौँ । हामीले संस्थागत सुुशासनसम्बन्धी निर्देशिकालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाएर लागू गरिसकेका छौँ । बीमकको लगानी निर्देशिका, बीमा प्रिमियम जुन बीमा कम्पनीले संकलन गर्छन्, त्यो निकै ठूलो राशिको छ । त्यसलाई लगानी गर्नका लागि नयाँ निर्देशिका बनाएका छौँ, जुन अनुपात एक भन्ने अन्तर्राष्ट्रिय परम्पारअनुसारको छ । त्यसले आजका दिनमा जति पनि बीमा कम्पनीले संकलन गरेको बीमा प्रिमियम वाणिज्य बैंक र अन्य बैंक वित्तीय संस्थाको निक्षेपमा राखेर त्यसबाट आउने ब्याजले मात्र पोलिसीहोल्डरलाई बोनस दिन्थे, त्यसलाई परिवर्तन गरेको छ । हाम्रो नियमनको दायरामा आवश्यकताअनुसारको सम्पत्ति राख्न हामीले निर्देशन दिएका छौँ । उनीहरूले आफ्नो हिसाबले लगानी गर्न पाउँछन् । जस्तो घरजग्गामा पाँच प्रशिसत, पूर्वाधारका क्षेत्र जस्तो पर्यटन, जलस्रोत, डिभेन्चर मार्केटमा लगानी गर्न पाउँछन् । यसरी लगानीको दायरा पनि हामीले व्यापक बनाएका छौँ ।

सुशासन निर्देशिका आधुनिकीकरण गरेका छौँ । हालसालै मात्र ज–जसले पुँजी पुर्याउन सकेनन् र क्रस होल्डिङमा संस्थापना भएका कम्पनीलाई पनि अन्तर्राष्ट्रिय परम्परा र मान्यताअनुसार ढाल्नका लागि मर्जरसम्बन्धी निर्देशिका हामीले जारी गरेका छौँ । बीमा कम्पनीका सीईओहरूलाई उनीहरूको तलब भनेको कार्यसम्पादनमा आधारित हुनुपर्छ भनेर त्यो जारी गरेका छौँ । हामीसँग लाइसेन्सिङ पोलिसी छ । योबीचको दुुई वर्षको पिरियडमा बीमा समितिले बीमा कम्पनीलाई दिने निर्देशनलाई आधुुनिकीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउँदै गइरहेको छ । अर्कोतर्फ कम्पनीहरूको नियमित निरीक्षण र सुपरिवेक्षण गर्ने कामलाई सम्पन्न गरेको छ । गत आर्थिक वर्षमै करिब–करिब १७/१८ कम्पनीको निरीक्षण गरेका छौँ । यो वर्ष पनि हामी त्यत्तिकै गर्छौं । न्यूनतम दुुई वर्षमा एउटा बीमा कम्पनीको निरीक्षण हुने किसिमको व्यवस्था गरेका छौँ ।

मानिसहरूलाई छिटोभन्दा छिटो न्याय दिने काम गरिरहेका छौँ । हेर्दा यो दुुई वर्षमा आफ्नो क्षमता वृद्धि र बीमा क्षेत्रको सुुशासन कायम गर्ने क्रममा बीमा समिति लागिपरेको छ ।

बीमा भनेको भोलि क्षति भयो भने तुरुन्त दाबी भुक्तानी पाउनका लागि हो । त्यस कारण हामी बीमा समितिसँग अर्धन्यायिक निकायका रूपमा बीमाको उजुरी सुन्ने र निर्णय गर्ने परम्परा छ । यो वर्षमात्र हामीले १०० भन्दा बढी मुद्दा फरफार गरेका छौँ । दुुई वर्षअगाडि वर्षमा एक/दुुई वटा मुद्दा मात्र सुनुवाइ गर्ने क्रममा रहेकोमा यो दुुई वर्षको अवधिमा प्रत्यक वर्ष १००/१०० गरेर करिब २०० मुद्दा फरफार गरेका छौँ । साथै मानिसहरूलाई छिटोभन्दा छिटो न्याय दिने काम गरिरहेका छौँ । हेर्दा यो दुुई वर्षमा आफ्नो क्षमता वृद्धि र बीमा क्षेत्रको सुुशासन कायम गर्ने क्रममा बीमा समिति लागिपरेको छ । दुुई वर्षअगाडि हामी जम्मा ४० जना कर्मचारीमा भर परेका थियौँ भने आज हामीसँग ८५ कर्मचरी छन् । त्यस्तै, हामीसँग चार्टर्ड एकाउण्टेण्ट साथीहरू, एक जुरी छन् । यसरी हेर्दा कम्पनी र आफ्नो क्षमता वृद्धिका कार्य हामीले निरन्तर रूपमा गर्दै आएका छौँ ।

पुँजी वृद्धि र मर्जर

कुनै पनि एकाघर परिवारका सदस्यले समान किसिमको बीमा व्यवसाय गर्ने कम्पनीमा एउटा कम्पनीमा बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछ भने त्यस्तै खालका बीमा व्यवसाय गर्ने अर्को कम्पनीमा लगानी गर्नुपर्यो भने एक प्रतिशत तल हुनुपर्छ ।

मर्ज र चुक्ता पुँजी वृद्धिलाई हामीले दुुई खण्डमा विभाजन गरेका छौँ । पहिलो भनेको पुँजी नपुुगेकाहरूले सबैभन्दा पहिले पुँजी पु¥याउनुहोस् । यो असार मसान्त सकिएको छ । आजको दिनमा अझै नौवटा कम्पनीको पुँजी पुुगेको छैन । उहाँहरूलाई सञ्चालक समितिमा लगेर कुनै एउटा निष्कर्ष निकाल्छौँ । पुँजी  बढाउन अब हामी समय थप गर्दैनौँ । हामीले २०७३ सालमा निर्देशन जारी गरेका हौँ । त्यो निर्देशनले कुनै पनि एकाघर परिवारका सदस्यले समान किसिमको बीमा व्यवसाय गर्ने कम्पनीमा एउटा कम्पनीमा बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछ भने त्यस्तै खालका बीमा व्यवसाय गर्ने अर्को कम्पनीमा लगानी गर्नुपर्यो भने एक प्रतिशत तल हुनुपर्छ । हामी दोस्रो चणमा त्यो काम गर्छौं । यो आर्थिक वर्षमा हामी त्यो पूरा गर्छौं र त्यहीअनुसार अगाडि बढ्छौँ ।

मतलब बचत गर्ने समूह अझै ठूलो छ । अझै हामी ६० प्रतिशत मानिसमा पुग्न सकिरहेका छैनौँ । त्यस कारण बिजनेस राम्रो छ ।

नेपालको बीमा क्षेत्र भव्य र उज्ज्वल छ । हाम्रो तथ्यांकले भन्छ, हामी बल्ल–बल्ल जीवन बीमा साइडमा १९ प्रतिशतमा पुुगेका छौँ । हाम्रो गरिबीको रेखामुनिको जनसंख्या सालाखाला २० प्रतिशत हो । यसको मतलब बचत गर्ने समूह अझै ठूलो छ । अझै हामी ६० प्रतिशत मानिसमा पुग्न सकिरहेका छैनौँ । त्यस कारण बिजनेस राम्रो छ । बीमा कम्पनीले गरेको अहिलेको वृद्धिदर ३५/४० प्रतिशतको छ । जीवन बीमा कम्पनीमा कुनै पनि समस्या छैन । त्यस कारण यो मार्केट धेरै राम्रो छ । स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् अगाडि जानुहोस् । लगानीकर्तालाई पनि ढुक्क हुन म अनुरोध गर्दछु ।

अबको ध्यान

निर्जीवन बीमा कम्पनीतर्फ पनि दुुई वर्षअगाडि जम्मा १३ अर्ब थियो । दुुई वर्षमा दोब्बर भएर २६ अर्ब भएको छ । राज्यले त्यत्रो लगानी सम्मेलन गरेको छ । विद्युत् निर्यात गर्ने कुरा आइरहेका छन् । धेरै प्रोजेक्ट आउदै छन् । एयरपोर्टहरू बन्दै छन् । पूर्वाधारहरूमा ठूलो लगानी हुँदै छ । ती सम्पत्तिको बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । त्यस कारण निर्जीवन बीमा कम्पनीहरूमा पनि बिजनेस छ ।

लगानीकर्ता आपसमा झैँझगडा गर्नुहुँदैन । सञ्चालक समितिले डेटुडे ट्रान्जेक्सनमा सीईओलाई स्वायत्तता दिनुपर्छ ।

आगामी दिनमा निर्जीवन र जीवन दुुवै कम्पनीको भविष्य राम्रो मैले देखेको छु । हामीले मात्र दुुई/तीन वटा कुुरामा ध्यान दिनुपर्छ । एउटा लगानीकर्ताले आपसमा झैँझगडा गर्नुहुँदैन । दोस्रो लगानीकर्ताले सञ्चालक समिति बनाउनुहुन्छ भने सञ्चालक समितिले डेटुडे ट्रान्जेक्सनमा सीईओलाई स्वायत्तता दिनुपर्छ । सीईओले त्यो काम गर्न सक्छन् । कर्मचारीहरूको क्षेत्रमा अलिकति दक्ष जनशक्तिको विकासमा खर्च गर्नुपर्छ । हामीले इन्स्योरेन्स इन्स्टिच्युट नेपाल गठन गरिसकेका छौँ । तालिम सञ्चालन भइसकेको छ । त्यसले पनि दक्ष जनशक्ति उत्पादन गर्न ध्यान दिन्छ । आगामी दिनमा बीमा क्षेत्रको भविष्य एकदम उज्ज्वल छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री