बिहीबार, १३ वैशाख २०८१

शिक्षण पेशामा आकर्षण घट्दो,विद्यालय छाडेर कृषिमा करिअर खोज्दै युवा

समयपोष्ट २०७४ भदौ २३ गते ९:१६

कपिलवस्तु वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् । 

Advertisement

तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भास्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

वाणगंगा–३ झुँगाका ठाकुर ढकाल र राजमणिको दुई बिघा जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी उनीहरुले भाडामा लिई व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् । लौका, घिरौँला, भिन्डी, बोडी, काँक्रा बिक्री गरी चार महिनामै रु एक लाख ५० हजार आम्दानी भएको छ । 

“शिक्षण पेशाभन्दा तरकारी खेतीबाट खुसी मिलेको छ,” पौडेलले भने । उनीहरुले १६ कट्ठामा लौका, बोडी, काँक्रा तथा १४ कट्ठामा भन्टा, फर्सी, खुर्सानी लगाएका छन् । करिब रु ८० हजारको लागतमा तरकारी खेती शुरु गरेका पौडेल र पँगेनीले मासिक रु दश हजार ज्याला दिई सहयोगीसमेत राखेका छन् । 

लौका प्रतिकलो रु २०, बोडी रु ८०, भन्टा रु ३०, काँक्रा र घिरौँला रु ३५ का दरले बजारमा पुर्याई बिक्री गर्ने गरेका पँगेनीले बताए । अहिलेसम्म रु पाँच लाखभन्दा बढी लगानी गरेको उनले बताए । उनीहरु कामदार नपाएर चिन्तित बनेका छन् । कामदार अभावले १० कट्ठामा धानबाली लगाएका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री