शनिबार, ८ वैशाख २०८१

स्वास्थ बिमा प्रभावकारी भएकै हो त ?

समयपोष्ट २०७४ भदौ २३ गते ८:०८

हालै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

Advertisement

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकाअनुसार गाउँ/गाउँका सर्वसाधारणसमेत बीमाप्रति आकर्षित भएका छन् । रत्ननगर नगरपालिका–१५ स्वास्थ्य बीमा कार्यक्रमकी दर्ता सहयोगी टीका चापागार्इंका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको बताउँछन् ।

रत्ननगर– १५ का एक हजार २०० मध्ये २०० जनाको बीमा गरिसकेको उनले बताए । उनीजस्तै जिल्लामा १३५ जना सहयोगी बीमा कार्यक्रमका लागि खटिएका छन् । जिल्लामा असार १ गतेदेखि सुरू भएको दर्ता प्रक्रियामा ३५ हजार ५०० भन्दा बढी नागरिक सहभागी भएका छन् ।

अहिलेसम्म आठ हजार २५० परिवारले बीमा गरिसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिकी व्यवस्थापक सिर्जना पौडेललेले जानकारी दिईन् । तथ्यांक गाउँ/गाउँबाट आउन बाँकी रहेको छ । यही भदौ १ गतेबाट यहाँ बीमा सेवा लिन सुरू भइसकेको छ ।

रत्ननगरका स्थानीयवासी होमप्रसाद भट्ट बीमा कार्यक्रम राम्रो भएकाले आफ्नो अन्नपूर्ण टोलका स्थानवासीलाई जागरुक पारेर बीमामा सरिक गर्न लागि परेको बताउँछन् । आव २०७२/७३ मा कैलाली, बागलुङ र इलामबाट सुरू भएको सो कार्यक्रम अहिले चितवनलगायत थप जिल्लामा सुरू भएको हो ।

समितिकाअनुसार बीमा कार्यक्रमअन्तर्गत सर्वसाधारणले अन्तरङ्ग बहिरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रयोगशाला तथा तोकिएको औषधि बीमा गरेपछि पाउनेछन् । मुख्यगरी न्यूनतम पाँच जनाको परिवारले  दुई हजार ५ सय रुपैयाँ तिरेपछि वर्षभरी बीमा कार्यक्रममा सहभागी हुन पाउने छन् । पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति  ४२५ रुपैयाँ थपेपछि बीमा कार्यक्रममा सहभागी हुनसक्नेछन् । उक्त सेवा अधिकतम  एक लाख रुपैयाँसम्मको हुने पौडेलले बताए ।

उनीहरूले वर्षभरी फाराम भर्दा तोकेको अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज, क्यान्सर अस्पताल, रत्ननगर अस्पताल, माडीको बघौडा, भरतपुर आँखा अस्पताल तथा जुटपानी, खैरहनी र शिवनगर स्वास्थ्य केन्द्रबाट उक्त सेवा पाइने छ ।

जटिल प्रकारका रोगको उपचार बीमाभित्र नपरेपनि साधारण उपचार र रोग पत्तालगाउने खालका परीक्षण यसमा समावेश छन् । यस वर्ष सरकारले चितवनलगायत देशका २५ जिल्लामा बीमा कार्यक्रम लागू गर्ने बताइएको छ । दैनिक  ७ सय रुपैयाँ तिर्दा एउटा परिवारले  एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने छन् । कार्यक्रममा सहभागी ४० वर्ष कटेकालाई वर्षको एक पटक अतिरिक्त सेवा स्वरुप स्वास्थ्य जोखिम परीक्षण सेवा उपलव्ध छ । सरकारबाट निःशुल्क तोकिएको सेवा भने यथावत् नै रहने छ ।

बीमाका लागि अति गरीबलाई १० प्रतिशत, गरीबलाई ७४ प्रतिशत र सीमान्तकृत गरीबलाई ५० प्रतिशत योगदान रकम छूट छ । सरकारको राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ अनुसार नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउने दीर्घकालीन लक्ष्य छ । बीमामा कस्मेटिक सर्जरी, कृत्रिम अंग राख्ने, बढी मूल्यका चस्मा तथा सुन्ने यन्त्र, तोकिए बाहेकका दाँत सेवा, कृत्रिम गर्भाधान, लिंग परिवर्तन, झै–झगडापछि लागेको चोट, मादक पदार्थ सेवनपछि भएको दुर्घटना तथा गर्भपतन सेवा उपलब्ध छैन । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री