शुक्रबार, १६ चैत २०८०

जोखिमयुक्त बस्तीका परिवारलाई लाभग्राही सूचीमा राख्न शुरु

समयपोष्ट २०७४ भदौ ११ गते १०:१३

 राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त भनी पहिचान भएका बस्तीका भूकम्प प्रभावितलाई लाभग्राहीको सूचीमा राख्ने प्रक्रिया शुरु गरेको छ । 

Advertisement

प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगा जमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । प्राधिकरणले यसरी लाभग्राही सूचीमा राखेकामा गंगा जमुना गाउँपालिका वडा नं १ रि गाउँका ब्लेक लामा तामाङ, नेमबहादुर तामाङ, सुतमान तामाङ, बलबहादुर तामाङ र चमबहादुर तामाङ छन् । 

सोही गाउँपालिकाको २ नं वडाका रामबहादुर तामाङ, शिवा तामाङ, गंगाबहादुर तामाङ, फुर्वा लामा तामाङ र दाइबहादुर तामाङ पनि लाभग्राही सूचीमा समावेश भएका छन् । त्यस्तै रक्से लामा तामाङ, मनोज तामाङ, जलबहादुर तामाङ, डेमे लामा तामाङ, सुनबहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राही सूचीमा परेका छन् । 

जोखिमयुक्त बस्तीबाट स्वेच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न रु दुई लाख दिन्छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिइसकेको छ । जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने पहलस्वरुप तत्कालका लागि १७ परिवारलाई लाभग्राही सूचीमा समावेश गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । 

जोखिमयुक्त भनी प्राधिकरणले प्रमाणित गरेका स्थानका लाभग्राहीले जग्गा खरिदका लागि रु दुई लाख र निजी आवास पुनःनिर्माणका लागि थप रु तीन लाखसमेत पाउनेछन् । प्राधिकरणले हालसम्म १३६ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रमाणित गरेको छ । तीमध्ये ६० वटा पूर्णरुपमा र बाँकी आंशिक रुपमा सार्नुपर्ने देखिएको छ । जोखिमयुक्त १३६ बस्तीमा दुई हजार ३६१ घरधुरी छन् । 

प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी नमूना एकीकृत बस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । गोरखाको केरौँजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा बस्ती यसमा परेका छन् । जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तीव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ । परामर्शदाताले पहिलो चरणमा नक्साको विस्तृत खाका बनाएर प्राधिकरणमा पेश गरेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री