शुक्रबार, १४ वैशाख २०८१

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट आइतबारबाट लागू हुँने,के हो इम्बोस्ड नम्बर प्लेट ? के छन् फाईदा ?

समयपोष्ट २०७४ भदौ ३ गते ६:०१

अनिता राई

Advertisement

सरकारले भोलीबाट इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरेपछि  यातायात ब्यवस्था विभागले औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भएको हो ।
इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरेअनुसार नै स्वीकृत भएको छ । 

मन्त्रालयले न्यूनत २५ सयदेखि ३६ सय रुपैयाँ लागत राख्दै तीन तहको मूल्य सिफारिस गरेको थियो । अब मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २५ सय रुपैयाँ खर्च गर्नु पर्ने छ । यसैगरी कार, जिप र भ्यान तथा ट्र्याक्टरले ३२ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३६ सय रुपैयाँ लाग्ने छ । एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारीसाधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य छ ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो। यसमा जडित प्रविधियुक्त चिप्स भित्र सवारी धनी र सवारी साधनको विभिन्न विवरणहरु सेभ गरेर राखेको हुन्छ ।  जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । जुन सबैले देख्नसक्ने बलियो र किफायती हुन्छ । यस नम्बर प्लेटमा एकपटक नम्बर राखेपछि त्यो परिवर्तन गर्न मिल्दैन । करीब दश बर्षसम्म त्यो त्यही रहन्छ । जसले सवारीसाधनको चोरी नियन्त्रण हुनेछ । इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा आएपछि कर नतिरी सवारी चलाउँन सहज हुनेछैन । सवारी साधनहरु नौ प्रकारबाट चार प्रकार सरकारी, निजी, कूटनीतिक र व्यावसायिक सवारीसाधन हुनेछन् । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि चीन र भारतलगायत विश्वस्तरीय मापदण्ड अनुसार नेपाली सवारीसाधन पनि हुनेछन् । 

यो सुविधाले अपराध नियन्त्रणमा सहयोग पुग्नेछ । शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन स्थानमा छन् भन्ने थाहा पाउन सकिन्छ । यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सूचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री