बिहीबार, १३ वैशाख २०८१

द्बन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालनमा आएनन्,लाखौँ रुपैयाँको राजश्व गुम्दै

समयपोष्ट २०७४ साउन २३ गते ५:४३

माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालन हुन सकेका छैनन्। 

Advertisement

छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ। अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो।  माओवादीले २०६० सालमा बम विस्फोट गराएपछि त्रासका कारण बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन्। 

मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र मझारेका छोटी भन्सार बन्द छन्। मोरङका ६ वटा भन्सार कार्यालयको काम सञ्चालन नहुँदा राजश्व खेर गइरहेको छ। विराटनगरभन्सार कार्यालय विराटनगरका निमित्त प्रमुख दिलीप केसीका अनुसार भारतीय प्रहरीले नाकामा कडाइ गरेकाले सो क्षेत्रको बाटो हुँदै भारतबाट सामान आयात नहुने भएकाले छोटी भन्सार सञ्चालन नगरिएको हो।   बन्द भएका छोटी भन्सारले वार्षिक कति राजश्व असुली गर्थे भन्ने तथ्याङ्क छैन। 

बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापना नहुँदा सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसार पसारमा वृद्धि हुँदै गएको स्थानीय सम्पत्तिलाल राजवंशीको भनाइ छ। उनले भने, 'दिनहुँ मझारेको छोटी भन्सारको बाटो हुँदै भन्सार नतिरी सामग्री लगिरहेका छन्, म हेरिरहन्छु तर कसैले मतलब गर्दैनन्।' उनका अनुसार छोटी भन्सार सञ्चालन नहुँदा चोरी तस्करीले राजश्व गुमिरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री