शुक्रबार, १४ वैशाख २०८१

विद्युत् प्राधिकरणको ढिलाइले चापागाउँ–खुमलटार सडकखण्डको काम अघि बढेन,पोल सार्न बेवास्ता

समयपोष्ट २०७४ साउन २२ गते ८:१३

निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन । प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता गरेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ।

Advertisement

 झण्डै चार महिनादेखि काम ठप्प भएको इन्जिनियर आरती साहले बताए। जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताए। उनले भने 'हाम्रो माथिल्लो निकायले प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरिरहेको छ।'

चक्रपथसँग जोडिएको सडकमा काम लथालिङ्ग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन्।

साह भन्छन्- 'ठेकेदार काम गर्न हतारिएको छ, पोल नसारेकाले मात्रै काम रोकिएको हो।' पोल सारेको एक महिनामा नै काम सकिने कार्यालयले जनाएको छ। सातदोबाटो–चापागाउँ सडकखण्डमा सडक बिस्तारको काम भइरहेको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम अघि बढेको छैन। सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको र खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक बिस्तार आयोजनाको हो। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री