बिहीबार, ६ वैशाख २०८१

सरकार तेजावी परिक्षामा छ, चैत्रमा चुनाव गराउन रोडम्याप अघि सार्दैछ : मन्त्री कार्की

समयपोष्ट २०७३ साउन ३२ गते ९:२८

काठमाडौं, ३२ साउन । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैत्रभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन् । 
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री कार्कीले भने,‘सबै दलहरुसँग वार्ता तथा सहमतिमार्फत नै हामी स्थानीय तहलगायत अन्य निकायको निर्वाचन गर्छौं, दलहरु एकमत भएर अघि बढ्नुपर्छ, सरकारले यही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ 
कार्कीले संविधान संशोधनमा समेत दलहरुवीच सहमति हुनुपर्ने आश्यकत्ता औंल्याए । उनले थपे,‘एमाले पनि संविधान संशोधनमा आउनुपर्छ, उ नआए उसलाई पनि सुख छैन् ।’
मन्त्री कार्कीले वर्तमान सरकार कठिन मोडमा रहेको उल्लेख गर्दै भने,‘हामी अहिले तेजावी परिक्षामा छौं, तर वर्तमान राजनीतिक समस्याको समाधान दिने कुरामा हामी विशेष रोडम्याप अघि सार्छौं ।’ 
एमालेले संविधान संशोधनमा नसघाउने दाबी गरिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री कार्कीले भने,‘ एमालेले पनि संयमता अपनाउनुपर्छ ।’ उनले अघि थपे,‘एमालेले अहिलेजस्तै प्रतिक्रिया दिईरहे चुनाव गर्न असम्भव छ ।’ संविधानप्रति असन्तुष्टि राख्ने मधेशी, आदिवासी, जनजाति, थारु लगायतले उठाएका मुद्दालाई सम्बोधन गर्नेगरि सरकारले काम गर्ने उनको विश्वास थियो । 
मन्त्री कार्कीले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गर्ने स्पष्ट पारे । उनले भने,‘पत्रकारहरुको लागि न्यूनतम श्रमजीवी पारिश्रमिक सुनिश्चित गर्छु, विगतको सरकारले अघि सारेका राम्रा कामहरु गरेको छ, श्रमजीवी पत्रकार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउँछु, म दाबीका साथ भन्छु पत्रकारहरुले न्यूनतम पारिश्रमिक पाउँछन्, त्यसको लागि म कुनै कसर बाँकी राख्दिन् ।’ यद्धपी उनले मिडिया हाउसलाई समेत विश्वासमा लिएर आफू अघि बढ्ने बताए । 
कार्कीले थपे,‘मिडिया हाउसलाई उद्योगको रुपमा मान्यता दिनेबारेमा मैले छलफल गरिरहेको छु, सोही अनुसार मिडिया हाउसले सेवा सुविधा समेत पाउँछन् ।’ 
नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले शुक्रबारसम्म काँग्रेसले मन्त्रिपरिषदमा आफ्ना नेताहरु पठाउने दाबी गरेका छन् । भण्डारीले भने,‘हामी नेविसंघको महाधिवेशनमा अल्झियौं, त्यसैले ढिला भयो, अब शुक्रबारसम्म हामी मन्त्रिण्डलमा हाम्रा साथीहरुको नाम पठाउँछौं ।’
भण्डारीले तराईमधेशको समधान हुने समेत विश्वास व्यक्त गरे । उनले भने,‘हामी तराईमधेशको समस्या समाधान गर्ने पक्षमा छौं, यही भावना अनुसार सरकारले काम गर्छ ।’ त्यस्तै उनले भुकम्पपछिको मुलुकको पूर्ननिर्माणको लागि पनि सरकारले विशेष काम गर्ने विश्वास व्यक्त गरे । वर्तमान सरकारले अघिल्ला सरकारहरुभन्दा राम्रो काम गर्ने उनले दाबी गरे । 
तपाई शिक्षा मन्त्री बन्दै हुनुहुन्छ भन्ने चर्चा छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘मन्त्री बन्ने सबैको चाहना हुन्छ नि, तर आफूले चाहेर हुने कुरा होईन, यो त पार्टीले निर्णय गर्ने कुरा हो ।’ यद्धपी उनले आफूू शिक्षामन्त्री भए शिक्षा क्षेत्रमा आमुल परिवर्तन गरेर देखाउने बताए । 
नेकपा एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको ताल र सुर राम्रो नदेखिएको आरोप लगाएका छन् । राईले भने,‘यो सरकारको सुर र ताल त्यति राम्रो छैन, यसको मति र गति हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन् ।’ उनले सरकारको यही तालले जनताले केही पनि राहत महशुस गर्न नसक्ने समेत ठोकुवा गरे । 
सरकारको गतिविधि आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको बताउँदै नेता राईले भने,‘एमालेले गम्भिर रुपमा सरकारको गतिविधि नियाँलिरहेको छ, यो सरकारले अघिल्लो सरकारले नै तय गरेको निर्वाचनको कार्यतालिका समेत तोडेको छ, मंसिरमा गर्ने भनिएको चुनाव चैत्रमा सारिएको छ, यसबाट प्रष्ट हुन्छ कि यो निर्वाचन गर्न चुनावको म्याद सारिएको होईन् ।’ 
उनले सरकारले चुनावको कार्यतालिका नै तोडेको देख्दा आफूहरुलाई कतै यो सरकारले मुलुकमा संवैधानिक रिक्तता ल्याउन खोजेको त होईन भनेर आशंका लागेको समेत गुनासो पोखे । उनले थपे,‘एमाले चुप लागेर बस्दैन्, हामीले जनतालाई खबरदारी गरिसकेका छौं ।’ 
केपी ओली नेतृत्वको सरकारले अघि सारेका राम्रा कामहरुलाई बाईपास गरेर अघि बढ्न खोज्नेहरु चिप्लिने उनको दाबी थियो । उनले अघि थपे,‘तपाईहरु सही बाटो हिँड्नुहोस, यदि त्यसो गर्नुभएन भने तपाईहरु कहिल्यै उठ्न नसक्नेगरि लड्नुहुन्छ ।’
राईले मधेशी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुनै नसक्ने बताए । उनले संविधान संशोधनको औचित्यपुर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे । उनले भने,‘यो धर्तीमा एमाले पनि छ, हामी जिउँदै छौं ।’
मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले एमालेले पनि संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । यादवले भने,‘एमाले जिम्मेवार पार्टी हो, संविधान संशोधन गर्ने कुरामा उसले सहयोग गर्छ, हामीलाई विश्वास छ ।’
मधेशी मोर्चाले अघि सारेका मुद्दाहरु सम्बोधन गर्न दलहरुवीच सहमति र वार्ताको आवश्यक रहेको उनको तर्क थियो । आफूहरुले उठाएका मुद्दालाई राष्ट्रिय मुद्दाको रुपमा सबैले ग्रहण गर्नुपर्ने यादवको भनाई थियो । यादवले आफूहरुलाई कसैलेपनि राष्ट्रवादको पाठ पढाउन नखोजे हुन्छ भन्दै चेतावनी दिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री