बिहीबार, १३ वैशाख २०८१

संविधान संशोधन गर्ने जिम्मेवारी एमालेको पनि हो :चन्द्रप्रकाश खनाल

समयपोष्ट २०७३ साउन ३१ गते ३:३२

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनाल बलदेवले पाँचदिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

Advertisement

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले अबको पाँच दिनभित्रमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन् । उनले भने,‘हाम्रो स्पिरिट भनेको नै सकेसम्म चाँडै मन्त्रिमण्डल विस्तार गर्ने भन्ने थियो, तर केही ढिला भयो, अब काँग्रेसले पनि चार पाँच दिनभित्रै आफ्नो तर्फबाट मन्त्रिको नाम टुँगो लगाउने कुरा गरेको छ, चाँडै हुन्छ ।’

खनालले मधेशी मोर्चाले अघि सारेका मागहरु राष्ट्रिय मुद्दा भएको उल्लेख गरे । उनले थपे,‘मोर्चाले अघि सारेका मागहरु सम्बोधन गर्ने जिम्मेवारी एमालृेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन, तर उ सहमतिमा आएन भने त्यसको जिम्मा हामी लिँदैनौं ।’ संविधान कार्यान्वयनको लागि पनि दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता रहेको उनको भनाई थियो ।

उनले मन्त्रिपरिषदको पहिलो बैठकदेखि नै सरकारले महत्वपूर्ण निर्णयहरु गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनको लागि प्रधानमन्त्री दाहालले निर्देशन दिईसकेको बताए । खनालले सरकारले तात्कालिन, अल्पकालिन र दिर्घकालिन गरि तीन तहमा आफ्ना कामहरु गर्ने कार्यातालिका बनाएको र सोही अनुसार अघि बढ्ने स्पष्ट पारे । सरकारको प्राथमिकतामा द्धन्द्धकालिन मुद्दालाई टुँगो लगाउने र भुकम्पपछिको मुलुकको पूर्ननिर्माण सम्पन्न गर्ने रहेको बताए । उनले अघिल्लो सरकारले चीन, भारत लगायत अन्य राष्ट्रहरुसँग गरेका सम्झौताहरुलाई निरन्तरता दिने पनि जनाए ।

जनताले प्रत्यक्ष राहत महशुस गर्नेगरि अहिले सरकारले महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न काम थालिसकेको उनको दाबी थियो । दलीय सहमति अनुसार नै स्थानीय निकाय लगायत अन्य चुनावहरु हुने उनको विश्वास थियो ।

निर्वाचन कार्यातालिका अनुसार आगामी चैत्रसम्म चुनाव सम्पन्न गर्नुपर्ने भएकाले सरकारले सोही बमोजिम तयारी थालेको समेत उनले जानकारी दिए । खनालले भने,‘मधेशी मोर्चापनि चुनावमा आउनुपर्छ, मोर्चाविनाको चुनावको कुनै अर्थ हुँदैन् ।’ राज्यपूर्नसंरचनासम्बन्धी विवाद उठेपनि त्यसलाई दलीय सहमति अनुसार नै टुँगोमा पुरयाउने खनालले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री