शुक्रबार, १६ चैत २०८०

एनएमबी बैंकले ल्यायो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा

समयपोष्ट २०७३ साउन ३० गते १४:०३

काठमाडौ । एनएमबी बैंकले इन्जिनियरिङमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा दिने भएको छ । बैंकले प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई कर्जा दिनेछ ।

Advertisement

बैकले हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको सहकार्यमा यो कर्जा दिनेछ । शैक्षिक धितो कर्जाका लागि हिमालय र एनएमबी बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भयो । समझदारीपत्रमा कलेजका तर्फबाट अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलले हस्ताक्षर गरे। आर्थिक अभावले इन्जिनियरिङ पढ्न समस्या परेका जेहेन्दार विद्यार्थीहरुले यो सुविधा लिन सक्ने बैंकले जनाएको छ । बैकका अनुसार यो योजनामा ग्रामीण, पिछडिएको क्षेत्र र महिलालाई प्राथमिकता राखिनेछ ।
सीमित विद्यार्थीलाई मात्र शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकका अनुसार अचल सम्पत्ति धितो राखेर सहुलियत दरमा ऋण लिएर पढ्न चाहने विद्यार्थीका लागि पनि सहज शैक्षिक कर्जाको व्यवस्था हुनेछ ।सम्झौताअनुसार, शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशतसम्म यो योजनाअनुरुप सहुलियत ऋण लिन सकिने बैंकले जनाएको छ ।
सामान्यतः ऋणको अवधि ४ वर्षको हुने बैंकले जनाएको छ । बैंकका अनुसार अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को ४ वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्न सक्नेछ । बैंकका अनुसार ४ वर्षपछिको किस्ताबन्दीसम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच अलग्गै सम्झौता गर्नुपर्नेछ । ब्याजदर विद्यार्थीको अवस्था हेरी ५ देखि ८ प्रतिशत हुने बैंकले जनाएको छ । 
 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री