शनिबार, ८ वैशाख २०८१

हुलाक सेवा प्रभावित

समयपोष्ट २०७५ भदौ १४ गते ८:३५

सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ ।

Advertisement

सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन । नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेश श्रेष्ठका अनुसार मौसम प्रतिकूलताका कारण विमान सोलुखुम्बु आउन नसकेको हो ।

हुलाक विभाग र नेपाल एयरलाइन्सबीच चिट्ठीपत्र (डाँक) बोक्ने सम्झौता भएको छ । सोलुखुम्बु र राजधानीसँग अन्तरसम्बन्धित चिट्ठीपत्र ढुवानीका लागि नेपाल एयरलाइन्ससँग सम्झौता भएपनि विमान नआउँदा हुलाक सेवा नै प्रभावित बनेको छ ।

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका प्रमुख लक्ष्मी आचार्य पराजुलीले भन्नुभयो, “एक महिना भयो, विमान आएको छैन, अन्य विमानमा पठाउँदा जोखिम हुन्छ ।” प्रमुख पराजुलीले भन्नुभयो, “विमान आएन भनेर पत्र नै नलैजाने भन्ने कुरै आएन, पत्र लैजाने विकल्प सडक यातायात हो ।”

जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा दर्ता भएका २८ केजी चिट्ठीपत्र केही दिनअगाडि मात्र गाडीमार्फत काठमाडौँ लगिएको छ । गत साउन २२ देखि भदौ १० गते सम्मको पत्र भदौ ११ गते गोश्वारा हुलाक कार्यालय काठमाडौँमा बुझाइएको छ । कार्यालयका हलकारालाई कर्मचारीले रकम सङ्कलन गरेर पठाइएको कार्यालयको भनाइ छ ।

“अन्य माध्यमबाट पत्र ढुवानीका लागि कुनै स्रोत छैन“, हुलाक प्रमुख पराजुलीले गुनासो पोख्नुभयो, “विभागमा गाडीको व्यवस्थापन गरी दिन आग्रह ग¥यौँ तर सुनुवाइ भएन ।” कर्मचारीहरुको सम्पत्ति विवरण बुझाउने काम हुलाक कार्यालयमार्फत भइरहेको छ । आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । हुलाक कार्यालयका सूचना अधिकारी सञ्जय राईले भन्नुभयो, “सम्पत्ति विवरण बुझाउने समय भएकाले डाक पनि धेरै भयो, विभागबाट हवाईजहाजको विकल्प नखोजेपछि हामी आफैँले व्यवस्थापन गरेका हौँ ।”

विभागले अन्य माध्यमबाट पठाउनका लागि रकम पनि उपलब्ध नगराएकाले कर्मचारीहरुले नै मिलेर रकम व्यवस्थापन गरी कर्मचारीको आवतजावतको प्रबन्ध गरेर गाडीमा पत्र पठाइएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ । सङ्घअन्तर्गतको हुलाकमा कर्मचारीको तलबबाहेक अरू रकम नभएकाले समस्या भएको कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । हिमाली जिल्ला सोलुखुम्बुमा केही वर्षयता भने राजधानीबाट सिधा यातायात जोडिएको छ । २५० किलोमिटर बढी दूरीको यस मार्गमा जीप सेवाले एक हजार ४०० र बस सेवाले एक हजार रुपैयाँ प्रतिव्यक्ति भाडा लिने गर्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री