मंगलबार, ४ कार्तिक २०८२

बेलायतवासीसंग नेपाली कुलमानको आह्वान: उज्यालो नेपाल अभियानमा साथ दिनुहोस्

समयपोष्ट २०८२ भदौ ९ गते ९:२९

Advertisement

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बेलायतवासी नेपालीहरूलाई उज्यालो नेपाल अभियानमा सहयोग गर्न आह्वान गरेका छन्। लन्डन नजिकैको केम्प्टन पार्कमा तमु धिं युकेले आयोजना गरेको १६औँ नेपाली मेलालाई सम्बोधन गर्दै उनले यो अभियान बत्तीको उज्यालोमा मात्र सीमित नभई नेपालको समग्र विकास र समृद्धिका लागि सुरु गरिएको बताए। उनले प्रवासी नेपालीहरूलाई यो अभियानमा सक्रिय सहभागिता र सहयोगका लागि अपिल गरे।

खाडी मुलुक, अमेरिका र युरोपका विभिन्न देशको भ्रमणपछि बेलायत पुगेका घिसिङले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको विषयमा पनि बोले। उनले नेपालको २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान समावेश भए पनि दश वर्षसम्म कानुन बन्न नसक्दा यो कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे। “अब थप ढिलाइ नगरी यो प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्छ,” उनले जोड दिए।

घिसिङले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खा सैनिकले नेपाललाई विश्वमाझ चिनाएको बताउँदै गोर्खा सैनिकका मागहरू यथाशीघ्र पूरा गर्नुपर्नेमा जोड दिए। उनले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै वंशजको नागरिकताको निरन्तरताको मुद्दामा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे।

हालैको एक अध्ययनलाई उद्धृत गर्दै घिसिङले प्रवासी नेपालीले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलरभन्दा बढी योगदान गरिरहेको बताए। उनले विश्वभर छरिएर रहेका नेपालीहरू नेपालको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै एनआरएनलाई नेपालमा लगानीका लागि नेपाली सरहको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, उनले नेपालको रूपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन प्रवासी नेपालीहरूलाई आग्रह गरे।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री