बिहीबार, ३० असोज २०८२

भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो (फोटो फिचरसहित)

दिपक खनाल २०८२ भदौ ३ गते १८:०७

Advertisement

काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो २०२५ मंगलबारदेखि भव्य रूपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यो प्रदर्शनी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ। यस वर्षको शोको मुख्य आकर्षण दीपलको उड्ने कार ‘ईभीटोल’ (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) र ह्युमनोइड रोबोट बनेका छन्।

चांगानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ल्याएको उड्ने कार ईभीटोल नेपालको अटोमोबाइल इतिहासमै पहिलो पटक प्रदर्शनमा राखिएको छ। यो दक्षिण एसियामै पहिलो ‘भर्टिकल फ्लाइङ ट्याक्सी’ हो। यसका साथै भिन्टेज कारहरूले पनि दर्शकको ध्यान आकर्षित गरेका छन्।

Advertisement

नाडा अटो शोमा १२५ भन्दा बढी प्रदर्शकले सहभागिता जनाएका छन्। ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड, स्मार्ट मोबिलिटी समाधान र भिन्टेज मोटर शो समावेश छन्। प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन व्यवस्था गरिएको छ।

यस वर्ष १९ चारपाङ्ग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। साथै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका स्टलहरू पनि राखिएका छन्। करिब डेढ दर्जन नयाँ सवारी मोडलहरू पनि सार्वजनिक गरिएका छन्।

‘मेड इन नेपाल’ पविलियनमार्फत स्वदेशमै उत्पादित टायर, ब्याट्री, लुब्रिकेन्ट्स, हेल्मेट र तीनपाङ्ग्रे सवारी साधनलाई प्रोत्साहन गरिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे।

प्रदर्शनीमा सहभागी आठ वाणिज्य बैंकहरूले अटो लोन योजनाहरू सार्वजनिक गरेका छन्। न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत ब्याजदरमा फिक्स्ड र फ्लोटिङ दरमा ऋण उपलब्ध गराइने भएको छ। तर, नेपाल राष्ट्र बैंकले इलेक्ट्रिक सवारी (ईभी) को ऋण सीमा ६० प्रतिशतमा झारेको छ, जसले गर्दा ईभी खरिद गर्नेले ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ। गत जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले हायरपर्चेज लोनमार्फत १ खर्ब ३० अर्ब ९४ करोड ८० लाख रुपैयाँ लगानी गरेको तथ्यांक छ, जसमा संस्थागततर्फ ८७ अर्ब २६ करोड र व्यक्तिगततर्फ ३६ अर्ब ४७ करोड रहेको छ।

अध्यक्ष चौधरीले नाडा अटो शो सवारी साधनको प्रदर्शनी मात्र नभई अटोमोबाइल क्षेत्रको व्यावसायिक थलो भएको बताए। उनले सवारी खरिदमा फाइनान्सिङको समस्यालाई आगामी मौद्रिक नीति समीक्षाले समाधान गर्नेमा आशावादी रहेको उल्लेख गरे। साथै, नाडाले उपभोक्ता, व्यवसायी र सरकारको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

प्रदर्शनीमा सवारी साधनको प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया र मिडिया तथा ट्राफिक सूचना डेस्कको व्यवस्था गरिएको छ। नाडा अटो शोले नेपालको अटोमोबाइल क्षेत्रको नवप्रवर्तन र सम्भावनालाई उजागर गर्ने अवसर प्रदान गरेको छ।

तस्बिरहरु: समयपोष्ट

प्रतिक्रिया

सम्बन्धित सामाग्री