बिहीबार, ३० असोज २०८२

नाडा अटो शोमा नामीको नयाँ इलेक्ट्रिक एसयुभी: भिगो ई-टू र ई-टू प्लस सार्वजनिक

समयपोष्ट २०८२ भदौ ३ गते १६:३९

Advertisement

एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ मा आफ्ना दुई नयाँ इलेक्ट्रिक एसयुभी, नामी भिगो ई-टू र नामी भिगो ई-टू प्लस (नामी ०६) लाई भव्य रूपमा सार्वजनिक गरेको छ। कम्पनीले नाडा अटो शोको अवसरमा विशेष छुटसहित यी गाडीहरूको मूल्य घोषणा गरेको छ, जसमा नामी भिगो ई-टू को नाडा अफर मूल्य ३७ लाख ९९ हजार (नियमित मूल्य ३८ लाख ९९ हजार) र नामी भिगो ई-टू प्लसको नाडा अफर मूल्य ४० लाख ९९ हजार (नियमित मूल्य ४१ लाख ९९ हजार) तोकिएको छ।

गत वर्ष ह्याचब्याक सेग्मेन्टमा प्रवेश गरेको नामीले यस वर्ष कम्प्याक्ट एसयुभी बजारमा बलियो उपस्थिति जनाउने लक्ष्यसहित यी दुई मोडल प्रस्तुत गरेको हो। गाडी सार्वजनिक समारोहमा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्तको उपस्थिति रहेको थियो।

सीईओ प्रशन्न पन्तका अनुसार, नामी भिगो ई-टू र ई-टू प्लस नेपाली सडकका लागि विशेष रूपमा डिजाइन गरिएका छन्। यी गाडीहरू डोङफेङको क्वान्टम आर्किटेक्चर ३ प्लाटफर्ममा निर्मित छन्, जसले उच्च प्रविधि र आधुनिक डिजाइनको संयोजन गरेको छ। गाडीमा ३सी फास्ट चार्जिङ प्रविधि छ, जसले ब्याट्रीलाई ३०% देखि ८०% सम्म केवल १८ मिनेटमा चार्ज गर्छ। १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ। साथै, एक्सटेरियर स्पिकर, म्युजिकसँग सिंक हुने ३६० डिग्री लाइट, वेलकम मेमोरी सिट, मल्टी-स्टेरिङ मोड, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानारोमिक सनरुफ, एम्बियन्ट लाइट, ६ वटा स्पिकर, हिटेड, भेन्टिलेटेड र मसाज सिट जस्ता सुविधाहरू उपलब्ध छन्।

यी एसयुभीहरूमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर ब्याट्री प्याकको विकल्प छ, जसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। ७ किलोवाटको एसी चार्जर र ६० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ। डब्लुएलटिपीका अनुसार यी गाडीको रेन्ज ३०० देखि ३५० किलोमिटर छ।

Advertisement

पन्तले गत वर्ष बजारमा प्रवेश गरेको नामीले छोटो समयमै ९०० भन्दा बढी ग्राहकको विश्वास जितेर नेपालको सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड बनेको बताए। उनले ग्राहकहरूलाई नाडा अटो शोमा नामीको स्टलमा आएर नयाँ एसयुभी अवलोकन गर्न र विशेष छुटको लाभ लिन आग्रह गरे।

नामी भिगो ई-टू र ई-टू प्लसले बीवाईडी एट्टो २, एमजी एस ५, हुन्डाई क्रेटा र फरथिङ फ्राइडे जस्ता प्रतिस्पर्धीहरूसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्नेछ। कम्पनीले निकटतम प्रतिस्पर्धीहरूलाई आधार मानेर मूल्य निर्धारण गरेको छ। यी गाडीहरूले नेपाली इलेक्ट्रिक गाडी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री