नेपाल विद्युत प्राधिकरणमा नेतृत्व परिवर्तनको प्रभाव, ३७.३२% ले घट्यो नाफा

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा नाफामा उल्लेख्य गिरावट भएको जनाएको छ। प्राधिकरणका अनुसार, यो वर्षको नाफा ९ अर्ब ६ करोड ७० लाख रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो। अघिल्लो वर्ष प्राधिकरणले १० अर्ब ५३ करोड नाफा कमाएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नाफा कम हुनुका कारणहरूबारे जानकारी दिँदै भने, “विदेशी मुद्रा (जापानी येन) मा भएको अधिमूल्यन, प्रशासनिक खर्चमा वृद्धि, औसत विद्युत बिक्री मूल्यमा कमी र डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रोभिजनिङका कारण नाफामा कमी आएको हो।” उनले जापानी येनको अधिमूल्यनबाट २ अर्ब र बक्यौता प्रोभिजनिङबाट साढे ५ अर्ब नोक्सानी भएको बताए। यद्यपि, उनले आगामी वर्षमा नाफा वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको छ। सञ्चालन खर्च, ब्याज खर्चलगायत सम्पूर्ण खर्च जोड्दा कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड पुगेको छ। यसले गर्दा नाफा ९ अर्ब ६ करोड ७० लाखमा सीमित भएको हो।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल क्षमता ३,५९१ मेगावाट पुगेको छ। यो वर्ष प्रणालीमा १५,६४१ गिगावाट घण्टा विद्युत उपलब्ध भएको थियो, जसमा प्राधिकरण र सहायक कम्पनीहरूको योगदान ३४%, स्वतन्त्र उत्पादकहरूको ५५% र भारतबाट आयातित विद्युतको योगदान ११% रहेको छ।
नेपालको आन्तरिक विद्युत खपत १०.७% ले वृद्धि भई ११,३१९ गिगावाट घण्टा पुगेको छ। त्यस्तै, विद्युत ग्राहक संख्या ४.६% ले वृद्धि भई ५७ लाख १ हजार पुगेको छ। राष्ट्रिय ग्रिडको पहुँच ९८% नजिक पुगेको छ भने विद्युत चुहावट ०.४७% ले घटेको छ।
यो वर्ष प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत उत्पादन क्षमता थपिएको छ। प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ।
कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेयता निरन्तर नाफा कमाइरहेको प्राधिकरणमा उनको बर्खास्तगीपछि नाफामा कमी आएको तथ्यले देखाएको छ। कार्यकारी निर्देशक शाक्यले भने नाफा कम हुनुमा बाह्य र आन्तरिक कारणहरू जिम्मेवार रहेको बताएका छन्। उनले आगामी वर्षमा सुधार हुने विश्वास व्यक्त गरेका छन्।




























प्रतिक्रिया