सोमबार, ३ कार्तिक २०८२

‘अङ्ग प्रत्यारोपण नीति खुकुलो बनाउन आवश्यक’

समयपोष्ट २०८२ साउन २८ गते २१:५०

Advertisement

विश्व अङ्गदान दिवसको अवसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा अङ्गदानको आवश्यकताको २० प्रतिशत पनि पूरा हुन नसकेको भन्दै नीति नियमलाई खुकुलो बनाउनुपर्ने बताउनुभयो।

मन्त्री पौडेलले विपन्न वर्गलाई बिमामार्फत जोडेर प्रत्यारोपण सुविधालाई रु. ९ लाखसम्म पुर्‍याउन सकिने र अङ्गदान गर्नेलाई निःशुल्क बिमाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “जटिल रोगको उपचारमा बिमामार्फत राज्यले सुविधा थप्दै लैजानेछ।”

उहाँले अङ्ग प्रत्यारोपणका लागि छुट्टै प्रतिष्ठान स्थापना गर्नुपर्ने, सबै सङ्घीय अस्पतालको क्षमता तीन गुणा बढाएर कम्तीमा ५०० श्यया बनाउनुपर्ने, र दक्ष जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो। साथै, क्यान्सरको छुट्टै प्रतिष्ठान स्थापना र पेट सिटीस्क्यान मेसिन विस्तारको योजना रहेको उहाँले उल्लेख गर्नुभयो।

Advertisement

मन्त्री पौडेलले जनस्वास्थ्य नियमावलीमा आधारित आइभिएफ निर्देशिका जारी हुने तयारीमा रहेको र भारतमा अङ्ग बेचबिखन नियन्त्रणका लागि कडाइ गरिएजस्तै नेपालमा पनि अङ्गदानबारे चेतना फैलाउनुपर्ने बताउनुभयो। मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई प्रोत्साहन गर्न र जनचेतना जगाउन मन्त्रालय लागिपरेको उहाँले उल्लेख गर्नुभयो। प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने र विशिष्ट उपचारलाई काठमाडौँ उपत्यका बाहिर लैजाने नीति मन्त्रालयको रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा नेमकिपाका सांसद प्रेम सुवालले भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो। सांसद दुर्लभ थापाले भक्तपुर प्रत्यारोपण केन्द्रमा बिरामीको चाप र श्यया अभावका कारण अस्पताललाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले मस्तिष्क मृत्युपछि हुने अङ्गदान र प्रत्यारोपणले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको र मिर्गौला तथा कलेजो प्रत्यारोपणले अर्बौं रकम विदेशिनबाट जोगिएको बताउनुभयो।

अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला र कलेजो प्रत्यारोपण सेवाले बिरामीलाई आर्थिक र मानसिक रूपमा सहज भएको र यो सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा प्रत्यारोपण संयोजक डा. कल्पनाकुमारी श्रेष्ठ र मस्तिष्क मृत्युबाट अङ्गदान प्राप्त गरी नयाँ जीवन पाएका शिव महर्जनले अङ्गदान र जीवनको अनुभव सुनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री