आइतबार, २ कार्तिक २०८२

आयातका लागि ८ हजार अमेरिकी डलरसम्मको भुक्तानी राष्ट्र बैंकको स्वीकृतिबिना गर्न सकिने

समयपोष्ट २०८२ साउन २२ गते २०:३०

Advertisement

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन निर्देशिका संशोधन गरी सेवा आयातसम्बन्धी भुक्तानी सीमा र प्रक्रियालाई सहज बनाएको छ। नयाँ व्यवस्थाअनुसार भारतबाहेकका मुलुकबाट हुने सेवा आयातका लागि एक पटकमा ८ हजार अमेरिकी डलरसम्मको भुक्तानी राष्ट्र बैंकको स्वीकृतिबिना गर्न सकिनेछ। यसअघि यो सीमा ५ हजार डलर थियो।

थप रूपमा, १५ हजार डलरसम्मको सेवा आयात भुक्तानी वाणिज्य बैंकमार्फत राष्ट्र बैंकको अनुमति बिना नै गर्न सकिनेछ। तर, ८ हजार डलरभन्दा माथिको भुक्तानीका लागि सेवा प्रदायकसँग सम्झौता भएमा सम्बन्धित नियामक निकायको सिफारिस वा स्वीकृति आवश्यक पर्नेछ। उदाहरणका लागि, बीमा कम्पनीका लागि बीमा प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका लागि नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिस चाहिनेछ। नियामक निकाय नभएको वा सिफारिस प्राप्त नभएको अवस्थामा ८ हजार डलरभन्दा बढीको भुक्तानीका लागि राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुनेछ।

यस्तै, १५ हजार डलरभन्दा माथिको अग्रिम भुक्तानीका लागि विदेशी बैंकको ग्यारेन्टी आवश्यक हुने व्यवस्था गरिएको छ, जुन यसअघि १२ हजार डलरमा सीमित थियो।

राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतिप्रसाद नेपालले यो निर्णयले सेवा आयात प्रक्रियालाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्य राखेको बताए।

Advertisement

त्यस्तै, IELTS, TOEFL, PTE, GRE, GMAT, SAT जस्ता भाषा तथा मानकीकरण परीक्षाको सेवा आयातमा पनि सहजीकरण गरिएको छ। नेपाली संस्थाले यस्ता परीक्षाका लागि १५ हजार डलरसम्मको सटही सुविधा वाणिज्य बैंकमार्फत नियामक निकायको सिफारिसबिना प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री