बुधबार, २१ साउन २०८२

सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य

समयपोष्ट २०८२ साउन २० गते १६:२९


सरकारले यातायात व्यवस्थापनलाई आधुनिकीकरण र व्यवस्थित बनाउन सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको विषयगत समितिको बैठकले २०८२ असोज १ गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णय गरेको छ।

बैठकले २०८२ असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरणको प्रक्रियामा सबै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूले इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गरेको छ । यो कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले प्राविधिक सहयोग प्रदान गर्नेछ भने गृह मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरी मार्फत कडा नियमन गरिनेछ।

सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच गत ज्येष्ठ ९ गते भएको सम्झौताअनुसार २०८२ आषाढ मसान्तसम्ममा सवारी चालक अनुमति पत्रको पहिलो चरणको छपाइ सुरु हुनेछ। भाद्र मसान्तसम्म छपाइ कार्यलाई तीव्रता दिन केन्द्रलाई अनुरोध गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशले यसका लागि आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेका छन्।

बैठकले १० वर्षे सवारी चालक अनुमति पत्रको राजश्वमा एकरूपता कायम गर्ने, तथ्याङ्क डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय बनाउने, सफ्टवेयर प्रणालीलाई चुस्त बनाउने, बेरुजू फर्स्यौटलाई प्रभावकारी बनाउने र राइड सेयरिङ सम्बन्धी नीतिमा एकरूपता ल्याउने निर्णय गरेको छ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार आयोजित यो बैठकले तीनै तहको सरकारबीच समन्वय र सहकार्यलाई जोड दिएको छ। मन्त्री दाहालले संविधान र ऐनले निर्दिष्ट गरेको व्यवस्थालाई कार्यान्वयन गरी संघीयताको प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले यस्ता निर्णयहरूले नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न सकिने बताए।

मन्त्रालयका सचिव केशवकुमार शर्माले विगतका निर्णयहरूको समीक्षा गर्दै यो बैठकले यातायात क्षेत्रको भावी कार्यदिशा तय गरेको बताए। डिजिटल प्रणालीको प्रयोग र नियमनकारी संरचनाको सुदृढीकरणले यातायात सेवालाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री