बुधबार, २१ साउन २०८२

सेयर बजारमा लगानीकर्ताको संख्या ६९ लाख ६५ हजार

समयपोष्ट २०८२ साउन २० गते १३:०८

नेपालको सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या झन्डै ७० लाख पुग्न लागेको छ।

सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ६९ लाख ६५ हजार ५ सय ६१ जनाले डिम्याट खाता खोलेका छन्। यद्यपि, डिम्याट खाता खोलेका सबैले दोस्रो बजारमा सेयर कारोबार भने गर्दैनन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार दोस्रो बजारमा कारोबारका लागि ४१ लाख ८९ हजार ६ सय ७७ जनाले खाता खोलेका छन्। तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र १० हजार ४६ वटा संस्थागत लगानीकर्ता छन्। तर, सबै सक्रिय नभएको नेप्सेले जनाएको छ। गएको एक वर्षमा कम्तीमा एक कारोबार गर्ने १२ लाख ४८ हजार ८५५ जना मात्र सक्रिय लगानीकर्ता रहेको तथ्यांक छ।
अर्कोतर्फ, २०८२ जेठ मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। गत वर्ष २०८१ जेठमा यो संख्या २७० रहेकोमा वृद्धि भएको हो। सूचीकृतमध्ये १३२ बैंक, वित्तीय संस्था र बिमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका छन्।
बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा ५२.१ प्रतिशत छ। जलविद्युत् कम्पनीको १६.१, लगानी कम्पनीको ८, उत्पादन उद्योगको ५.५, व्यापारिक संस्थाको ५.३, होटलको २.८ र अन्य समूहको १०.२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री