मंगलबार, २० साउन २०८२

वैदेशिक रोजगार सम्बन्धी विज्ञापन अनिवार्य रूपमा अनलाइन प्रकाशन गर्न निर्देशन

समयपोष्ट २०८२ साउन २० गते ९:३०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एप मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

विभागले आज जारी गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र नियमावली, २०६४ को नियम ७ बमोजिम राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशनको व्यवस्था यथावत रहने उल्लेख छ। तर, अब सोही विज्ञापन श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य गरिएको छ।

श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याइएको छ, जसले नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

दैनिक पत्रिकामा मात्र विज्ञापन प्रकाशित हुँदा नागरिक एपमार्फत सत्यापन गर्न कठिनाइ हुने भएकाले अनलाइन प्रकाशन अनिवार्य गरिएको छ।
विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कामदार पठाउनुअघि विज्ञापन श्रम संसार पोर्टल वा एपमा अपलोड गरी सम्पूर्ण विवरण समेट्न निर्देशन दिएको छ। असोज १३ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार अनलाइनमा विज्ञापन नराखेमा अपूर्ण ठहर गरी नियमानुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री