नेपाली बजारमा भित्रियो जिली ईएक्स ५ सिरिज, कति पर्छ मुल्य ?
नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै जाँदा नयाँ र आकर्षक मोडलहरू भित्रिने क्रम तीव्र भएको छ। यसैबीच, चीनको अग्रणी अटोमोबाइल कम्पनी जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ।
एलआरआर मोटर्सले नाडा अटो सो २०२५ लाई लक्षित गरी जिली ईएक्स ५ प्रो र जिली ईएक्स ५ म्याक्स गरी दुई मोडल भित्र्याएको हो। यी मोडलहरूले छोटो समयमै विश्वब्यापी रूपमा चर्चा कमाएका छन्, र अब नेपाली उपभोक्ताले यिनको अनुभव लिन सक्नेछन्। नेपाली अटोमोबाइल पारखीहरूले यी गाडीहरूको बारेमा पहिलेदेखि नै चासो राख्दै आएका थिए।
जिली ईएक्स ५ सिरिज डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिकोणले नेपाली बजारमा उपलब्ध अन्य मोडलहरूको तुलनामा निकै प्रतिस्पर्धी छन्। यी गाडीहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी पाँच आकर्षक रङमा उपलब्ध छन्।
दुबै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ, जुन सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनामा उत्कृष्ट मानिन्छ। यो ब्याट्रीले आठवटा निडल परीक्षण पास गरेको छ र विश्वकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित ब्याट्री हो। यसको आयु ३,५०० चार्ज साइकल (लगभग १० लाख किमि वा ५० वर्ष) रहेको छ, जुन अन्य कुनै पनि ब्याट्रीको तुलनामा निकै उच्च हो। साथै, आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले ब्याट्रीमा ८ वर्ष वा २ लाख किमिसम्मको वारेन्टी प्रदान गरेको छ।
यी मोडलहरूमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति केवल ६.९ सेकेन्डमा पुग्न सक्छ। सिएलटिसी परीक्षणअनुसार ५३० किमी र डब्लुएलटीपी मापनअनुसार ४३० किमीको माइलेज प्रदान गर्ने यी गाडीहरू नेपालको भौगोलिक अवस्थाका लागि उपयुक्त छन्।
जिली ईएक्स ५ सिरिजको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्। आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ र पाँच तहको सिट प्रविधि उपलब्ध छन्।
ईएक्स ५ म्याक्समा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग सुविधायुक्त सिटहरू तथा फ्लाइमीको साउण्ड सिस्टमले उपभोक्तालाई लक्जरी अनुभव प्रदान गर्छ।
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल असिस्टलगायतका सुरक्षा प्रविधिहरू समावेश छन्। जिलीले विकसित गरेको फ्लाइमी अटो ओएस (स्मार्ट ककपिट अपरेटिङ सिस्टम) ले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा प्रदान गर्छ। साथै, एपमार्फत गाडीको गति नियन्त्रण गर्न सकिने सुविधा पनि उपलब्ध छ।
नेपाली बजारमा ईएक्स ५ प्रोको मूल्य ५८ लाख र ईएक्स ५ म्याक्सको मूल्य ६८ लाख तोकिएको छ। एलआरआर मोटर्सले नाडा अटो सो २०२५ को अवसरमा विशेष छुटको व्यवस्था गर्ने जनाएको छ।
प्रतिक्रिया