बुधबार, ५ कार्तिक २०८२

नाडा अटो शो : १२० वटा स्टल, १६ ओटा चार पाङ्ग्रे र २२ ओटा दुई पाङ्ग्रे ब्राण्ड रहने

समयपोष्ट २०८० भदौ ११ गते १५:०५

Advertisement

भदाै २६ देखि ३१ गतेसम्म काठमाडौंमा आयाेजना हुने १५ औं संस्करणको “नाडा अटो शो २०२३” मा १६ वटा चार पाङ्ग्रे र २२ ओटा दुई पाङग्रे ब्राण्ड रहने भएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष ध्रुब थापाले हाल विद्यमान बजार शुस्तताका बाबजुद पनि प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन याेगदान पुग्ने बताए । उनले नेपाली महान चाड-पर्वहरुको पूवार्द्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, अटोमोबाइलसंग प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने बताए ।

टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित “नाडा अटो शो २०२३” मा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक र वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

Advertisement

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्रि, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको जनाईएको छ । प्रदर्शनीलाई वढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्री पछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्बन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २- पाङग्रे, ४- पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा-छुट्टै प्रदर्शन गरिएको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावरलगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने बताइएकाे छ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड भाड कम गर्न भ्रमणलाई सहज बनाउन आजकै मितिदेखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएकाे छ । आज अर्थात ११ गतेदेखि भदाै २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० जनाले अवलोकन गर्ने र २० अर्बकाे काराेबार हुने पनि नाडाकाे अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री