शुक्रबार, ७ वैशाख २०८१

विद्यार्थीहरुलाई शिक्षासंगै संस्कार सिकाउनुपर्छ

समयपोष्ट २०७३ साउन २४ गते ७:२७

अनिल केडिया 

Advertisement

शिक्षा क्षेत्रले अन्य क्षेत्रले जस्तै गुणस्तरीय उत्पादन र अभिभावकलाई सन्तुष्टि दिने नै हो । कुनै समय शिक्षा क्षेत्र सरकारको नियन्त्रणमा थियो । निजी क्षेत्रमा थिएन । सरकारले मात्र गुणस्तर दिने नसकेपछि निजी क्षेत्रको आवश्यकता महसुस गरी निजीलाई पनि विद्यालय खोल्न अनुमति दिन थालियोे । मेरो बुवाले ५० वर्षअघि वीरगन्जमा कन्या स्कुल खोल्नुभएको थियो । यसको मुख्य कारण त्यसबेलादेखि नै नेपाल र भारतको शिक्षा वेस्टर्न डोमिनेटेड थियो । नेपालमा अगाडि सेन्ट लगाएर पश्चिमाले चलाएपछि राम्रो भन्ने छाप थियो । यस्तो भएपछि सवै पश्चिमाकरण हुन्छ, हाम्रो हिन्दुको अथवा आर्य समाज हराउँछ भनेर मेरो बुवाले हाम्रै मूल्य–मान्यता र संस्कार सिकाउने उद्देश्यले स्कुल खोल्नुभएको थियो ।
त्यो बेला दयानन्द सरस्वती एककिसिमले भिजन मिसनमा गइरहेको थियो । अहिले हामीले सञ्चालन गरेको डीएभी भनेको दयानन्द एङलोवेदिक हो । एङलो भनेको मोर्डन र वेदिक भनेको इस्टर्न मूल्य–मान्यता समाहित हुनुपर्छ भन्ने हो । हामीले प्रविधि पनि छाड्नुहुँदैन, छोड्दा पछाडि परिन्छ तर टाइ, कोट लगाए पनि हाम्रो आत्मा इस्टर्नकै हुनुपर्छ । हाम्रो मूल्य–मान्यता र संस्कृति छाड्नुहुँदैन। जस्तो विदेशी संस्कृतिमा हरेक वर्ष श्रीमती छाड्ने, आमाबाबुले भनेको नमान्ने हुन्छ, यस कुराको पिरलो उहाँले डीएभी अवधारणा ल्याउनुभयो । हामीले विद्यार्थीहरुलाई धेरै स्मार्ट बनाएर धेरै नम्बर ल्याएर पास गराउने भन्दा पनि संस्कार सिकाउनु अहिलेको आवश्यकता हो । संस्कार नभएको एउटा विद्यार्थी र संस्कार भएको अशिक्षित व्यक्तिमध्ये अशिक्षित व्यक्ति नै उत्तम हुन्छन् जस्तो मलाई लाग्छ । त्यसैले हामीले यहाँ विद्यार्थीहरुलाई शिक्षा मात्र होइन संस्कार पनि सिकाइरहेका छौं ।

वेस्टर्नभन्दा हाम्रो शिक्षा बेस्ट
डाइरेक्सनविनाको जहाज दुर्घटनामा पर्छ भनेझैं वेस्टर्नले पनि अहिले के मानिसक्यो भने यदि मूल्य–मान्यता र संस्कारविनाको शिक्षाले मान्छे सफल हुन सक्दैन । अहिले वेस्टर्नको शिक्षामा पनि मेडिटेसन, योगा भयानक रूपमा आइसकेको छ । यसले के देखाउँछ भने विश्वमा भारत र चीनको शिक्षा एकदम बेस्ट छ । रिसर्चमा अमेरिकन एजुकेसन एकदम फेलियर भनेर देखाएको छ । तर, हाम्रा नेपाल, भारतलगायत यो क्षेत्रका विद्यार्थीले अमेरिका युरोपलाई धानिरहेको छ । त्यसैले मूल्य–मान्यता, संस्कार र फाउन्डेसन राम्रो छैन भने जति राम्रो भवनको उचाइ भए पनि त्यो कुनै बेला ढलिहाल्छ । जग राम्रो भएमात्र तला थप्न सकिन्छ । तर, वेस्टर्न एजुकेसनमा जग राम्रो छैन, खालि तला थप्ने काममात्र भयो । यही कारणले वेस्टर्न एजुकेसन धराशयी भयो । डीएभी खोलेपछि वेस्टर्न एजुकेसनको प्रभाव घट्दै छ ।
शिक्षा क्षेत्रका चुनौती
अहिले नेपालको वर्तमान अवस्थाबारे अनभिज्ञ कोही पनि छैन । हरेक व्यापार, व्यवसाय गर्दा तलमाथि हुन्छ । अहिले नेपालमा व्यापारीलाई समातिहाल्ने, जेल हाल्ने, व्यापारीलाई एककिसिमले तस्करको नजरले हेर्ने, स्कुललाई त झन् शैक्षिक माफियाको हिसाबले हेर्ने अवस्था छ । यो सोचमा परिवर्तन नआएसम्म कुनै पनि क्षेत्र माथि उठ्न सक्दैन । स्कुलकै बारेमा भन्दा सबै नेता, कर्मचारी, पत्रकार सबैले आफ्नो बच्चालाई निजीमै पठाउँने, तर निजीलाई नै गाली गर्ने प्रवृत्ति छ । निजीले देशको सेवा गर्दागैर्द, राज्यलाई कर तिर्दातिर्दै पनि तक्मा पाउनुको सट्टा जेल जानुपर्ने अवस्था छ । त्यसैले हरेक क्षेत्रमा डर, त्रास, भय छ । संविधानमा पनि खुला मार्केट इकनमी भनेर आउँछ भन्न लागेको थियो तर संविधान पनि कम्युनिजम भएर आएको छ । त्यसैले अब कि त सबै कम्युनिजम गरिदिनुप¥यो, सबै सरकारी, कि त फ्री मार्केट गरिदिनुपर्छ । तर, भन्ने फ्री मार्केट, पोलिसी कम्युनिजम भएको छ । यसले गर्दा हामी घर न घाटको भएका छौं । यो द्विविधाले गर्दा हामी कामै गर्न नसक्ने भएका छौं । कि त बैंक, उद्योग सबै राष्ट्रियकरण गरिदिनुप¥यो, यो भएपछि न रह्यो बास न बज्यो बाँसुरी भनेजस्तै हुन्छ । राष्ट्रियकरण पनि नगर्ने प्राइभेट पनि भन्ने तर प्राइभेटलाई कुनै अधिकार नदिने, शुल्क पनि सरकारले तोकिदिने, छात्रवृत्ति पनि सरकारले तोकिदिने, तलब पनि सरकारले तोकिदिने, किताबको मूल्य पनि सरकारले तोकिदिने ।नेपालको शिक्षामा कर पनि यति ठूलो छ कि संसारमा कहीं पनि छैन, यति ठूलो कर । यस्ता चुनौती धेरै छन् ।
शिक्षाको लगानी सुरक्षित छ
अहिले कुनै पनि उद्योग व्यवसाय राम्रोसँग चल्न सक्ने अवस्था छैन । अहिले अन्य क्षेत्रभन्दा शिक्षामा अलि बढी सुरक्षित छ । उदाहरणका लागि हामीले खाल्डैखाल्डा भएको बाटोमा गाडी गुडाउँदा सबैभन्दा सानो खाल्डोमा गाडी हाल्छौं । शिक्षा यस्तै छ । तर, यो मेरा लागि मात्र हो, नयाँ आउने लगानीकर्ताका लागि होइन । किनभने मैले ३०÷४० वर्षदेखि शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छु । तर, अहिले मैले गरेजस्तै गरेर शिक्षण संस्था चलाउँछु भन्यो भने त्यो सम्भव हुँदैन । तर, मान्छेले डीएभी अथवा जेम्सले यति धरै कमायो मैले पनि यस्तै गर्छु भन्छ, त्यसको पृष्ठभुमि हेर्दैन । आज डीएभीले ५० वर्षको इतिहासमा पाँच हजार विद्यार्थी भए भनेर अहिले अरूले त्यसैको कपी गर्छु भनेर हुँदैन । लगानी सुरक्षित छैन, किनभने ३० प्रतिशत विद्यार्थी घटिसकेका छन् । नयाँ लगानी गर्ने वातावरण छैन । तर, मलाई यो क्षेत्रमा लामो अनुभव छ, केही पैसा बचाउन सकुँला तर मैलेजस्तै अरू कुनै नयाँ लगानीकर्ताले गर्न खोज्यो भने ९९ प्रतिशत नै फस्ने खतरा छ ।
नेपालमा सुरुमा सरकारले लगानी गर्, यो सुविधा दिन्छु, त्यो दिन्छु भन्छ । तर, लगानी गरेपछि बाहिर निस्कने ठाउँँ नै छैन । गरेको लगानी डुबाउन पनि सकिँदैन । त्यसैले जे–जस्तो छ, यसैमा सन्तुष्टि लिनुपर्ने अवस्था छ । म मैले गरेको लगानीमा सन्तुष्ट छु । अहिले डीएभीमा करिब चार सय शिक्षक छन् । उनीहरूका परिवार छन्, त्यसैले यो संस्थाबाट अप्रत्यक्ष रूपमा ५ हजार, १० हजार आश्रित छन् ।
नीतिगत समस्या
सरकारसंग शिक्षा क्षेत्रका समस्या बारे छलफल गर्ने संस्थाहरू हिसान प्याब्सनमा पनि म आवद्ध छु । तर,मेरो अनुहारको कारणले मलाइ अरूलाइ भन्दा बाहिर नै राखिएको छ । यहि कारणले देशमा ठूलो द्धन्द्ध पनि भैरहेको छ । यो सत्य हो मेरो स्कुलमा मान्छे पनि खराव होइन । तर किन यसरी व्यवहार गरिन्छ त ?
मेरो अनुभवमा कुनै पनि चीज पोलिसी ठीक भएमात्र ठीक हुने हो, तर पोलिसी नै ठीक भएन भने त हुने कुरै भएन । सरकारले हामीसँग ३५,४० करोड कर लिन्छ । करिब १ खरब रुपैयाँ शिक्षामा पोलिसी ठीक नभएर बाहिर गइरहेको छ । सरकारले समयमा भर्ना गर्न दिँदैन । भारतमा विद्यार्थीको भर्ना सकिएको दुई÷तीन महिनापछि मात्र यहाँ भर्ना खुल्छ । जब कि त्यो बेलासम्म विद्यार्थी उता गइसकेको हुन्छन् । यसले गर्दा नेपालका विद्यालयमा विद्यार्थी घट्दै गइरहेका छन् । सरकारले शिक्षा क्षेत्रबाट ३५ करोड रुपैयाँ ट्याक्स उठ्यो भन्छ तर प्रत्यक्ष, अप्रत्यक्ष रूपमा एक खरब रुपैयाँ विदेशमा गइरहेको छ । यसका कारण समयमा परीक्षा नहुने, रिजल्ट समयमा नहुनेलगायतका समस्या छन ।
अर्को निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण नै गलत छ । यहाँ सरकारले धान्न सक्दैन, निजीलाई पढाउन दिँदैन । न आफू गर्छ न अरूलाई गर्न दिन्छ । यस्तो नीतिका कारण पनि हो । भारतमा यति ठूलो एजुकेसन उद्योग भयसक्यो कि हामीभन्दा धेरै सस्तोमा पढाइ हुन्छ । जसले गर्दा गएको वर्ष नौ लाख विद्यार्थी प्लस टुमा थिए, अहिले घटेर साढे सात लाख छन्, अर्को वर्ष साढे ६ लाखमात्र भयो भने हाम्रो एजुकेसन सिष्टम नै कोल्याप्स हुन्छ ।
धेरै ठाउँमा काम गर्दा दिमाग खुल्छ
अहिले मैले शिक्षाको साथै कार्पेट, दूध, ट्रेडिङको पनि नेतृत्व गर्दै आएको छु । मान्छेले कसरी यति धेरै संस्थाको नेतृत्व गर्न सकेको भन्छन् तर मेरो मान्यता जुन मान्छेले चारवटा काम गर्छ, उसको दिमाग खुल्छ भन्ने छ । एउटै क्षेत्रमा मात्र हुँदा दिमाग नै खुल्दैन । हरेक क्षेत्रका आफ्नै सुविधा र समस्या हुन्छन् । तर, चारवटा काम गर्दा म्यानेजमेन्ट स्किल बढ्छ । अहिले मोर्डन टेक्नोलाजी आएपछि घरमै बसेर सिसिटिभी क्यामेरामा गतिविधि हेर्न सकिन्छ । जस्तै कक्षाकोठामा बच्चाले बदमासी ग¥यो भने कक्षाकोठामा जानु पर्दैन, सिसिटिभी क्यामेराबाटै हेर्न सकिन्छ । अर्को हाजिरी सिष्टम पनि बायोमेटिक्स सिष्टम आयो, यसले गर्दा शिक्षक कति बजे आयो भनेर गेटमा बसेर हेर्न पर्दैन । त्यसैले अहिले विश्वव्यापी रूपमा व्यापार बढ्नुका कारण टेक्नोलोजीको सपोर्ट नै हो ।
तनाव हटाउन ध्यान
अहिले बिजुली १८ घन्टा नआउँदा पनि केही समस्या छैन । तर, १८ घन्टामा दुई घन्टा बढी बिजुली आउँदा हामी खुसी हुन्छौं । हाम्रो मानसिकता नै यस्तो भएको छ । हरेक कुरा सिष्टममा आएपछि तनाव महसुस हुँदैन ।
मेरो तनाव हटाउने माध्यम भनेको ध्यान हो । शरीरका लागि भोजन भएझैं मनका लागि कसरत चाहिन्छ । मन कमजोर भयो भने शरीर चल्दैन । जसले मन र शरीरलाई ब्यालेन्स गर्छ उसलाई समस्या आउँदैन । हाम्रो स्कुलमा पनि ध्यान र योगा गराउँछौं । अहिलेको समयमा खाली शिक्षामात्र दिएर हुँदैन, शरीर र दिमागको सन्तुलन भएपछि मात्र मान्छे पूर्ण हुन्छ । सबैभन्दा ठूलो मन हो । डाक्टर, पाइलट भए पनि मन ठीक छैन भने उसले नकारात्मक निर्णय लिन सक्छ । त्यसैले शरीर र मनलाई सन्तुलनमा राख्न सिक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री