शनिबार, ८ वैशाख २०८१

सर्लाहीका नयाँ उद्योग दर्तामा कृषि तथा वन्यजन्तु प्राथमिकतामा

समयपोष्ट २०७९ साउन २७ गते २१:१४

Advertisement

घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार एक सय ८७ वटा नयाँ उद्योग दर्ता हुदाँ त्यसमा एक हजार पाँच सय ४१ वटा कृषिजन्य उद्योगहरु दर्ता भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सर्लाहीमा कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वातै बढेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ वटा र एक हजार पाँच सय ४१ वटा कृषिजन्य उद्योगहरु गरी जम्मा दुई हजार एक सय ८७ वटा उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आव २०७७÷०७८ मा जम्मा एक हजार नौ सय ४३ वटा नयाँ उद्योगहरु दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७÷०७८मा पनि आर्थिक वर्ष २०७८/०७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ वटा उद्योगहरु दर्ता भएका थिए भने सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ वटा उद्योगहरु दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

आर्थिक वर्ष २०७८÷०७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगहरुबाट राजश्ववापत रु दुई करोड ९१ हजार नौ सय सङ्कलन भएको कार्यालयले जनाएको छ । विगतका दिनहरुमा कार्यालयको अवस्था जे जस्तो रहेको भएपनि अहिले भने सेवाग्राहीहरुलाई सहज र छिटो छरितो तरिकाले सेवा प्रदान गर्दै आएको कार्यलय प्रमुख गुप्ताले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७८÷०७९ मा पाँच हजार चार सय ३० जना पुरुष तथा ३६ हजार ५० जना महिलाहरुले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री