शुक्रबार, १४ वैशाख २०८१

घरजग्गामा लिलामीको आतंक !

पत्रपत्रिका २०७९ साउन २० गते ६:२६

Advertisement

बिगत करीब एक वर्षदेखि घरजग्गा कारोबार ओरालो लागेको छ । एकपछि अर्को सरकारी नीतिले यो क्षेत्र थला परिसकेको छ । अहिले भने बैंक तथा वित्तीय संस्थाले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो धमाधम लिलाम गर्दै छन् । त्यसमा धेरै जसो घरजग्गा व्यवसायीहरू पनि परेका छन् ।

कोभिड-१९ को शुरूवातसँगै जारी लकडाउनका कारण समग्र आर्थिक गतिविधि ठप्प हुँदा घरजग्गा कारोबार प्रभावित हुने आम अनुमान विपरित कोभिड कालमा घरजग्गा र शेयर बजार दुवै क्षेत्र निकै उचालिए । सरकारले अनुत्पादक क्षेत्र भनेर भन्दै आएको यी दुवै क्षेत्रको चहलपहल भने खहरे खोलामा आएको भेल जस्तै थियो ।पछिल्लो एक वर्ष भने यी दुवै क्षेत्र फेरि खहरे खोलामै परिणत भएका छन् । ३२०० विन्दुमा पुगेको शेयर बजार १८०० विन्दु आसपास आएर अहिले २२०० विन्दु नजिक पुगेको छ । मासिक ७५ हजार घरजग्गा किनबेच हुने घरजग्गा बजारमा मुस्किलले ४०-४५ हजार घरजग्गा किनबेच भइरहेका छन् । जुन कोभिड अघि हुने किनबेचकै बराबरी हो ।

मासिक ७५ हजार घरजग्गा किनबेच हुने पिक समयमा यो क्षेत्रमा प्रवेश गरेका लाखौ साना ठूला व्यवसायी यतिबेला निकै अफ्ठेरोमा परिसकेका छन् । केही टाठा बाठा व्यवसायीले परल मूल्य वा एकाध लाख कममै बेचेर बजारबाट निस्किएपनि धेरै जसो लगानीकर्ताहरू भने फसेको फसेइ भएको घरजग्गा व्यवसायीहरू नै बताउँदै आएका छन् ।

विगत एक वर्षदेखि जसो तसो धानेका घरजग्गा व्यवसायीहरूले यो विचमा मूल्य घटाएर जग्गा बेच्ने स्किम पनि ल्याए । त्यति हुँदा पनि जग्गा विक्री नभएपछि अहिले बैंकहरूले धमाधम लिलामीको सूचना निकाल्न थालेका छन् । घरजग्गा व्यवसायीहरूलाई अहिले कुन दिन आफ्नै फोटो छापिएर लिलामीको सूचना आउँछ भन्ने त्रास छ । त्यसबाट बच्न उनीहरूले सबै प्रयास गरिसकेका छन् । लिलामीको सूचना आएपनि त्यसलाई टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको घरजग्गा व्यवसायीहरू बताउँछन् । आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री