
जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । तर, उनीहरुको सनाखत भएको छैन ।
पहिरामा परेकामध्ये अझै ३८ जना बेपत्ता छन् । बेपत्ता हुनेहरुमा छविलाल दोङ, सोमरानी दोङ, धनलक्ष्मी, शिरमाया दोङ, विवरानी दोङ, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो दोङ, सोनाम दोङ, हिरा भक्ति, जीते झाँक्री र सानुकान्छी दोङ (गर्भवती) रहेका छन् ।
यस्तै दन्दुस दोङ, सुरज दोङ, करेसमाई दोङ, च्यामा दोङ, सानु दोङ, टीकामाई दोङ, छिरिङ दोङ, मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्ची लामा दोङ, धनमाया तामाङ दोङ, रेनिस दोङ, मेकमाई दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ बेपत्ता छन् । बेपत्ता हुने एउटै टोलका बासिन्दा हुन् ।
पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको प्रहरी प्रमुख महर्जनले जानकारी दिए ।









प्रतिक्रिया