पढाई अन्योल, मन्त्रालय नै अलमलमा, ८० लाख विद्यार्थी मर्कामा

कोभिड त्रासका कारण नियमित पढाइ बन्द भएको पाँच महिना बित्न लाग्यो। तर, सरकारले पठनपाठनलाई व्यवस्थित गर्न प्रभावकारी कदम चालेको छैन। सरोकारवाला निकायबाट स्पष्ट निर्देशन नआउँदा विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढाइ प्रभावित भएको छ। सबै तहका गरी ८० लाख विद्यार्थी र अभिभावक मर्कामा परेका छन्।

Advertisement

यही अन्योललाई कसरी पार लगाउने भनेर जुटिरहेको दाबी शिक्षा मन्त्रालयले गरे पनि परिणाम देखिएको छैन। पढाइ व्यवस्थित हुन नसक्दा सरकारले विद्यालय शिक्षक, कर्मचारी तथा विद्यार्थीको पाठ्यपुस्तकलगायत क्षेत्रमा गरेको अर्बों लगानी सदुपयोग हुन सकेको छैन।

वैशाखमा सुरु हुनुपर्ने विद्यालय तहको शैक्षिक सत्र चार महिना पर धकेलिइसकेको छ। भदौ १ गतेदेखि विद्यार्थीको भर्ना तथा रजिस्ट्रेसन सुरु गर्ने मन्त्रालयको तयारी छ। तर, कोभिड संक्रमण तीव्र रहेकाले यो योजनाअनुसार प्रक्रिया अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा मन्त्रालयकै अधिकारी पनि विश्वस्त छैनन्।

लामो समय शैक्षित्र सत्र खेर गयो भने अहिले रहेको पाठ्यक्रमको भार घटाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ। शिक्षा ऐनअनुसार एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नै पर्छ। विद्यमान पाठ्यक्रम संरचनाअनुसार विद्यार्थीलाई १ सय ८० दिन पढाउनै पर्ने कानुनी व्यवस्था छ। यस हिसाबले एक वर्षमा १ हजार ६४ घण्टा पढाउनुपर्छ।

भदौ १ गतेदेखि विद्यालय नखोल्ने हो भने पाठ्यक्रमको भारअनुसार कानुनमै तोकिएको यो व्यवस्था कार्यान्वयन गर्न मुस्किल पर्छ। यसबारे अध्ययन गर्न मन्त्रालयले कार्यदलसमेत गठन गरे पनि काम गरेको छैन।

Advertisement

भदौ १ गतेबाट नियमित पढाइ सञ्चालन गर्न नसके पनि स्कुल खोल्न पाए त्यही मितिदेखि शैक्षित्र सत्र गणना गरिने र चाडपर्व, शनिबार तथा अन्य सरकारी विदालाई समेत कटौती गरेर भए पनि ऐनमा भएको व्यवथा अनुसार विद्यालयमा पढाइ हुने दिन पुरा गर्न सकिने मन्त्रालयको योजना छ। मन्त्रालयले पेस गरेको यस योजनालाई मन्त्रिपरिषदको साउन १२ गतेको वैठकले पारित गरेको थियो। र सोही निर्णयलाई कार्यान्वयन गर्न मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई साउन २२ गते पत्राचार गरेको छ।

उपत्यका र वाहिरका कतिपय स्कुलले स्थानीय तहको अनुमतिमा नियमित पढाइ शुरु गरिसकेका छन्। जोर विजोर कक्षा मानेर उनीहले विद्यार्थी बोलाएका छन्। सोही अनुसार पढाई तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन्। धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले साउन १८ गतेदेखि पालिकाभित्रका स्कुलमा शैक्षिक क्रियाकलाप अघि बढाइएको बताए। ‘विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग बैठक बसेर छलफल गर्दा विद्यालय चलाउन सक्ने सबैको राय आयो’, इटनीले भने, ‘सामाजिक दूरी कायम हुने गरी विद्यार्थीको सिकाइ सहजीकरण गर्न विद्यालय खोल्ने निर्णय गरिएको हो।’ उनका अनुसार जिल्लाभित्र ३२ वटा सामूदायिक, ९ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। स्कुलहरुले विद्यार्थी संख्याका आधारमा पालैपालो कक्षागत गतविधी सञ्चालन गरिरहेका छन्। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित यो समाचार सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री