आइतबार, ६ जेठ २०८१

बीमा बजार अत्यन्तै प्रतिस्पर्धी भएको छ : एभरेष्ट इन्स्योरेन्सका सीईओ कमल गौतमको अन्तर्वार्ता

समयपोष्ट २०७६ भदौ १० गते ९:५८

Advertisement

एभरेष्ट इन्स्योरेन्सको अवस्था कस्तो छ, चुक्ता पुँजी कति पुग्यो, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

एभरेष्ट इन्स्योरेन्सको समष्टिगत अवस्था अहिले अत्यन्तै सुदृढ छ । गत आसार मसान्तभित्रै कम्पनीले बीमा समितिले निर्दिष्ट गरेको न्यूनतम चुक्ता पुँजी पुर्याउन सफल भएको छ र उक्त पुँजी करिब रु. १०४ करोड छ । बाँडफाँट नभएको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्दा अर्काे महिनाभित्र चुक्ता पुँजी कम्तीमा रु. १०९ करोड पुग्ने हाम्रो अनुमान छ । यसैगरी बीमा लेख संख्या, कुल बीमा शुल्क रकम, दाबी भुक्तानी रकम, शाखा संख्या, कर्मचारी संख्याजस्ता सम्पूर्ण क्षेत्रमा उल्लेखनीय बढोत्तरी भएको छ ।

समग्रमा बीमा बजारमा ग्राहकको रोजाइको बीमा कम्पनीका रूपमा रही रहनु नै हाम्रो एक मात्र लक्ष्य हो ।

पुँजी वृद्धि सँगसँगै व्यवसाय विस्तार गर्ने हाम्रो मुख्य योजना छ । यसका लागी शाखा विस्तार, मानव संशाधनको विकासमा जोड, सूचना प्रविधिमा स्तरोन्नति, नयाँ बीमा प्रोडक्ट तथा बजारको खोजी गर्नु आदि हाम्रा आगामी प्राथमिकतामा परेका कुरा हुन् । समग्रमा बीमा बजारमा ग्राहकको रोजाइको बीमा कम्पनीका रूपमा रही रहनु नै हाम्रो एक मात्र लक्ष्य हो ।

Advertisement

नयाँ निर्जीवन बीमा कम्पनी थपिएसँगै तपाईंहरू जस्तो पुरानो कम्पनीलाई कत्तिको असर पुगेको छ ?

पुँजी वृद्धिका कारणले एकातर्फ पुँजीलाई उचित प्रतिफल दिनका लागि व्यवसाय बढाउनुपर्ने चुनौती बढेसँगै नयाँ कम्पनीको प्रवेशले बीमा बजार अत्यन्तै प्रतिस्पर्धी हुन पुगेको छ । जसको फलस्वरूप बीमा कम्पनीहरूको सञ्चालन खर्च वृद्धि भएको छ भने व्यवसाय बढाउन र ग्राहक आकर्षित गर्न अत्यन्त परिश्रम गर्नु परेको छ । समग्रमा यसबाट बजार विस्तार गर्नका लागि नयाँ प्रोडक्ट, सर्भिस, टेक्नोलोजी आदिको प्रयोग बढ्दो छ भने ग्राहकले अत्यन्त राम्रो सेवा पाउने वातावरण बनेको छ र राम्रा कर्मचारीको माग अत्यन्त बढेको छ । प्रतिस्पर्धाका कारणले नन् ट्यारिफ बीमा लेखहरूको मूल्य घट्न गई मूल्यबाट लागत उठाउनसमेत कठिन देखिँदैछ र यो कारणले गर्दा पुनः र्बीमा बजारमा हाम्रो बीमा बजारप्रतिको आकर्षण कम हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।

काठमाडौँजस्तो शिक्षित, चेतनशील, आर्थिक र व्यावसायिक गतिविधि भएको ठाउँमा त स्वतःस्फुर्त रूपमा बीमा गर्ने ग्राहक हामीले सोचेभन्दा कम छन् र बीमा गर्नका लागि बैंक वा सरकारले निर्देशित गरेको अवस्थामा गर्ने गरिन्छ भने स–साना गाउँठाउँको कस्तो अवस्था होला, हामी सजिलै अनुमान गर्न सक्छौँ । जहाँ खर्चलाई न्याय दिनेसम्मको व्यवसायको गुन्जाइस छैन, त्यहाँ गएर शाखा खोल्न अलि गाह्रो नै हुन्छ ।

 

संख्या थपिए पनि बीमा कम्पनीहरू अझै गाउँ–गाउँमा पुग्न सकेका छैनन्, समितिले स्थानीय तहमा जान अभिप्रेरित पनि गरिरहेको छ, स्थानीय तहमा जान के कस्ता कठिनाइ छन् ?

बीमा कम्पनीहरू तुलनात्मक रूपमा अस्तिभन्दा हिजो र हिजोभन्दा आज गाउँउन्मुख छन् र स–साना बजारमा समेत शाखा खोलिरहेको अवस्था छ तर सबैलाई थाहा हुनुपर्ने कुरा हो, बीमा पनि एउटा व्यवसाय हो र जहाँ यसको माग छ त्यहाँ शाखा विस्तार गर्न बीमा कम्पनी आफैँ उत्प्रेरित हुन्छन् । काठमाडौँजस्तो शिक्षित, चेतनशील, आर्थिक र व्यावसायिक गतिविधि भएको ठाउँमा त स्वतःस्फुर्त रूपमा बीमा गर्ने ग्राहक हामीले सोचेभन्दा कम छन् र बीमा गर्नका लागि बैंक वा सरकारले निर्देशित गरेको अवस्थामा गर्ने गरिन्छ भने स–साना गाउँठाउँको कस्तो अवस्था होला, हामी सजिलै अनुमान गर्न सक्छौँ । जहाँ खर्चलाई न्याय दिनेसम्मको व्यवसायको गुन्जाइस छैन, त्यहाँ गएर शाखा खोल्न अलि गाह्रो नै हुन्छ । हाल आएर बैंकहरूले पनि सबैजसो स्थानीय निकायमा शाखा खोलेको अवस्था भएकाले सोको सकारात्मक असर गाँउघरतिरको आर्थिक क्रियाकलापमा परे सँगसँगै बीमा व्यवसाय पनि साना गाउँबस्तीतिर आफैँ आकर्षित हुनेछ । तथापि बीमा कम्पनीद्वारा पशु तथा बाली बीमाको सेवा अहिले पनि देशभर उपलब्ध नै छ ।

मानिसहरूमा बीमा गर्नुपर्छ भन्ने चेतना अझै पनि छैन, जोखिम वहनका लागि बीमा गर्नुपर्छ भन्ने कुरा सर्वसाधारणलाई बुझाउनका लागि के गर्नुपर्ला ?

समाज र अर्थतन्त्रमा विकास र उन्नतिको सकारात्मक प्रभाव परे सँगसँगै यो सचेतनामा पनि उल्लेख्य प्रगति हुन्छ ।

बीमा सचेतना खास गरी निर्जीवन बीमा सचेतना सन्तोषजनक रूपमा अझै सबै क्षेत्र र तहका जनसाधारणकहाँ पुगेको छैन । यसमा हालैका वर्षमा बीमा समितिबाट सकारात्मक प्रयास भएका छन् र फलस्वरूप तुलनात्मक रूपमा जीवन बीमाको सचेतना अलि बढेको छ । यो सचेतना बिस्तारै सबै क्षेत्रमा बढ्दै छ । बीमाको दायरा जनसंख्यामा हरेक वर्ष बढिरहेको छ । यो एकै दिन वा एकै वर्षमा प्राप्त हुने उपलब्धि होइन । सरकार, बीमा समिति, बीमा कम्पनी र बीमाको चेतना भएका मानिसको निरन्तर प्रयासबाट यो छिटो वृद्धि हुन्छ । समाज र अर्थतन्त्रमा विकास र उन्नतिको सकारात्मक प्रभाव परे सँगसँगै यो सचेतनामा पनि उल्लेख्य प्रगति हुन्छ ।

बीमा कम्पनीहरूको लगानी वाञ्छनीय क्षेत्रमा विविधीकरण भई जोखिम कम हुन्छ र प्रतिफल पनि बढी हुन्छ । तथापि लगानी नीतिकै कारणले बीमा कम्पनीको आफ्नै बीमा व्यवसायमा चाहिँ धेरै ठूलो फरक परिहाल्ने म देख्दिनँ ।

समितिले बीमा कम्पनीका लागि लगानी नीति लचिलो बनाएको छ, यसले व्यवसाय बढाउन कत्तिको सहयोग पुग्छ ?

बीमा समितिद्वारा भर्खरै जारी लगानी नीति अत्यन्तै सकारात्मक छ । यो नीतिमार्फत थोरै भए पनि बीमा कम्पनीसँग रहेको लगानीयोग्य रकम राष्ट्र निर्माणमा, उत्पादनमूलक क्षेत्रको विस्तारमा प्रत्यक्ष लगानी होस् भन्ने असल मनसायले नयाँ नीति बीमा समितिबाट ल्याइएको हो । यसबाट बीमा कम्पनीहरूको लगानी वाञ्छनीय क्षेत्रमा विविधीकरण भई जोखिम कम हुन्छ र प्रतिफल पनि बढी हुन्छ । तथापि लगानी नीतिकै कारणले बीमा कम्पनीको आफ्नै बीमा व्यवसायमा चाहिँ धेरै ठूलो फरक परिहाल्ने म देख्दिनँ ।

कम्पनीहरूले सहज रूपमा दाबी भुक्तानी नदिएको भन्ने गुनासा अझै पनि सुनिन्छन्, के कारणले यस्तो हुन्छ ?

बीमा कम्पनीहरू यसमा अन्तरनिहित गलत प्रवृत्तिलाई चिर्दै कसरी दाबी भुक्तानी छिटोछरितो र सरल बनाउन सकिन्छ भनेर आफैँ चिन्तनशील छन्, गम्भीर छन् र जनमानसमा रहेको दाबीप्रतिको नकारात्मक धारणा कसरी हटाउन सकिन्छ भनेर लागिपरेका छन् ।

अस्तिभन्दा हिजो, हिजोभन्दा आज बीमा कम्पनीहरू दाबी भुक्तानीप्रति सकारात्मक र उदार हुँदै आएको अवस्था छ । बीमा भुक्तानी प्रक्रिया बैंकमा गएर चेक साटेर रकम भुक्तानी लिनेजस्तो सामान्य कुरा पनि होइन । दाबी भुक्तानी गर्दा नोक्सानी बीमा गरिएको जोखिमबाट भएको हो वा होइन, नोक्सानी दाबी गरे जति नै भएको छ वा छैन र यी कुराको निक्र्यौल बीमा कम्पनी आफैँले गर्ने नभई बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरले गर्नुपर्दछ र सर्भेयरहरू समेत क्षतिको प्रकृति र क्षति पुर्याउने कारक तत्वअनुसार विभिन्न अन्य निकायको राय, रिपोर्ट आदि माथि समेत भर पर्नुपर्ने हुन्छ । बीमा व्यवसाय पुनः बीमा कम्पनीप्रति पनि जिम्मेवार भई निर्वाह गर्नुपर्दछ अन्यथा राम्रा पुनः बीमकहरू बाट सुरक्षा पाइँदैन । बीमा दाबी पनि गलत मनसायले झुटा दाबी गर्ने, नोक्सान भएका कारण भन्दा अन्य कारण देखाइ दाबी गर्ने, नोक्सान भएभन्दा बढी दाबी लिन खोज्ने आदि प्रवृत्तिबाट मुक्त भइसकेको छैन । बीमा कम्पनीहरू यसमा अन्तरनिहित गलत प्रवृत्तिलाई चिर्दै कसरी दाबी भुक्तानी छिटोछरितो र सरल बनाउन सकिन्छ भनेर आफैँ चिन्तनशील छन्, गम्भीर छन् र जनमानसमा रहेको दाबीप्रतिको नकारात्मक धारणा कसरी हटाउन सकिन्छ भनेर लागिपरेका छन् । हाम्रो कम्पनीको कुरा ग¥यो भने दाबी भुक्तानी सरल, छिटोछरितो बनाउनुपर्दछ र ग्राहकको मन जित्नुपर्दछ भन्ने कुरामा हामी पूर्ण सहमत छौँ र हाम्रा गतिविधि त्यतातिर केन्द्रित छन् ।

अहिलेको बीमा बजारको बीमा शुल्क कुल रकम, बीमा कम्पनीहरूको संख्या र बीमामा लगानी भएको पुँजी आदिको यथार्थ मूल्यांकनमा आधारित भएर आएको हो र यो अत्यन्त सकारात्मक छ ।

 

समितिले क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरमा लैजाने भनेको छ, यो कत्तिको उपयुक्त होला ?

बीमा समितिबाट मर्जरको कुरा आएको छ, जुन अहिलेको बीमा बजारको बीमा शुल्क कुल रकम, बीमा कम्पनीहरूको संख्या र बीमामा लगानी भएको पुँजी आदिको यथार्थ मूल्यांकनमा आधारित भएर आएको हो र यो अत्यन्त सकारात्मक छ । मर्जर कहिले र कहाँबाट सुरु गर्ने भन्ने नीतिगत सवालमा हुन सक्छ, बीमा समितिलाई पहिले क्रस होल्डिङ भएका कम्पनीलाई एक आपसमा मर्ज गराउँदा छिटो सकारात्मक परिणाम देखिन्छ भन्ने लागेको हुन सक्छ । जुन कुरा एक हदसम्म ठीक पनि हो ।

नेपालमा बीमा क्षेत्रलाई विश्वसनीय र अनुशासित बनाउने अभिभारा सरकारले बीमा समितिलाई सुम्पेको छ । बीमा समितिले आफ्नो सो उद्देश्य परिपूर्तिका लागि समयअनुसारको नीति अवलम्बन गर्छ र बीमा कम्पनीहरूले बीमा व्यवसाय बीमा समितिले निर्दिष्ट गरेको सीमाभित्र रहेर अनुशासित भई गर्नुपर्दछ ।

कम्पनीका आगामी योजना के छन् ?

कम्पनीका आगामी योजना भनेकै एउटा अनुशासित बीमा कम्पनीको रूपमा रही ग्राहक, समाज, राष्ट्रप्रति उत्तरदायी भई व्यवसाय सञ्चालन गरी सेयरधनीलाई उचित प्रतिफल दिई राख्न सकियोस्, कर्मचारीलाई आफू काम गर्ने संस्थाप्रति गर्व होस्, नियमनकारी निकायको नजरमा अनुशासित कम्पनीका रूपमा रहिरहोस् भन्ने कुरामा केन्द्रित रहेर आफ्नो व्यवसाय विस्तार गर्नका लागि नयाँ शाखा खोल्ने, नयाँ प्रोडक्ट र सर्भिस ल्याउने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, मानव संशाधनको विकासमा ध्यान दिने आदि कुरा नै हाम्रा भावी योजना हुन् र हाम्रा सबै स्रोतसाधन र क्रियाकलाप यी लक्ष्य परिपूर्तिका लागि नै प्रयोग हुनेछन् र हामी अगाडि बढ्नेछौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री