शुक्रबार, १४ वैशाख २०८१

म्याग्दीमा प्राधिकरणले इञ्जिनियर पठाउँन सकेन,भूकम्पपीडितको आवास निर्माण प्रभावित

समयपोष्ट २०७४ भदौ १५ गते ६:२७

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् । 

Advertisement

जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३÷७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु ५० हजारका दरले निजी आवास निर्माणका लागि रु तीन करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो । 

अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु तीन करोडको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गरे । 

जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो । 

अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताए । 
जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री