शुक्रबार, ७ वैशाख २०८१

समय पाउँदा रिल्याक्स भएर कफि गफ गर्न मन पर्छ

समयपोष्ट २०७४ साउन ९ गते ४:२४

अनिल केडिया डीएभी स्कलुका अध्यक्ष हुन् । यसबाहेक उनी दर्जनौं संस्थामा जोडिएका छन् । डीएभी सुशील केडिया विश्व भारती स्कुलदेखि सीताराम गोकुल्स मिल्कसम्म आफैंले सञ्चालन गरेका छन् । त्यसबाहेक डीएभी कलेज अफ म्यानेजमेन्ट, इन्दिरा गान्धी ओपन युनिभरसिटी, यती फेवरिक लिमिटेड, सुशील वनस्पति प्रालि, रोहित इन्टरनेसनल, इस्ट ट्रेडिङलगातका संस्थाको पनि नेतृत्व गर्दै आएका छन् । उनको जीवनशैलीबारे समयबोधले गरेको कुराकानीः

Advertisement

खाना 

हामी मारवाडीहरूको खानेशैली भारतीय तौरतरिकाको छ । हामी बिहान नास्ता खाएपछि साढे एक बजे लञ्च लिन्छौं अनि फेरि ५ बजे केही हल्का खानै प¥यो । फेरि राति डिनर । मारवाडीको खाने  तरिका कहिलेकाहीं नमिलेको जस्तो लाग्छ । बिहान नास्ता लिएपछि दिउँसो लञ्च लिनुपर्यो  । केही काम आइपर्दा लञ्च लिएर जाने कि नजाने दुविधा हुन्छ । लञ्च लिएर जाउँ काम गडबड हुन्छ, नलिई जाउँ आफ्नो काम कति बजेसम्म लाग्ने हो थाहा हुँदैन । यस्तो असमज्जस्यमा हाम्रो जीवन चलिरहन्छ । 

व्यक्तिगत रूपमा भन्दा म बिहान फलफूलसँग पुवा लिने गर्छु । तेल भएको खानेकुराहरू म बिहानमा लिदिनँ । तर, खानेकुरामा म बढी फास्टफुड रुचाउँछु । खानेकुरामा मेरो अलि उशृंखल बानी छ । पिज्जा भेटे पिज्जा, जहाँ जे भेटिन्छ आफूलाई मनपर्ने फास्टफुड म खाइहाल्छु । बिहान नास्ताबाहेक दिउँसो मेरो पूरै डाइटजस्तो हुन्छ । दिउँसो कहाँ हुन्छु थाहा हुँदैन । रातमा आधा समय प्रायः पार्टीमै भइन्छ । खानामा प्रायः रोटीे खान्छु । मलाई बच्चा बेलादेखिनै रोटी एकदम मन पर्छ । म शुद्ध शाहाकारी हुँ । अण्डा पनि खाँदिन । घरबाहिर खाना खानुपर्यो भने इन्डियन खाना खाने ठाउँमा जाँदिन । अहिले काठमाडौंमा राम्रा–राम्रा जापनिज, थाई, चाइनिज, कोरियन फुड पाउने रेष्टुरेष्टहरू खोलिएका छन् । त्यतै पुग्छु । मलाई जापनिज, थाई, चाइनिज, कोरियन फुड मन पर्छ । 

पहिरन

anil kedia 1

पोसाक मन पर्ने नपर्नेभन्दा पनि पेन, पर्स, मोबाइल राख्नैपर्ने हुन्छ । यी चिज राख्न पर्ने बाध्यताले पनि मन पर्ने पोसाक लगाउँन पाइँदैन । मलाई कुर्ता, पाइजामा लगाउने निकै सोख छ । पेन, पर्स, मोबाइल राख्नैपर्ने हुँदा त्यो लगाउन सम्भव भएन । फेरि काठमाडौंमा लगाउने चलन पनि कम छ । कहिलेकाहीं लगाउँ न त भनेर लगाए पनि सामान राख्नै गाह्रो हुन्छ । त्यसैले सबैभन्दा बढी म प्यान्ट सर्ट नै लगाउने गर्छु । 

फिटनेस 

फिटनेस दुई किसिमले मेन्टेन गर्न सकिन्छ । विज्ञानले पनि नब्बे प्रतिशत बिमारी साइकोसोमेटिक हुन्छ भनेर प्रमाणित गरिसकेको छ । टेन्सनले मानिसलाई धेरै रोग लाग्ने सम्भावना हुन्छ ।  फ्याक्ट्रीमा पनि यति ठूलो आगलागी भयो । म आफूलाई फिट राख्न बिहान एक घन्टा त ध्यान नै गर्छु । ध्यान नगर्दा मनमा धेरै कुरा खेलिरहन्छ । देश पनि राजनीतिक रूपमा अस्थिर छ । विभिन्न किसिमको ट्याक्सका समस्या, पोलिटिकल समस्या आइरहेका छन् । कुनै पनि चीज हामीकहाँ मिलेको छैन । यति धेरै समस्याग्रस्त देश कमै होला । हरेक क्षेत्रमा आफ्नो आफ्नो ठाउँमा मानिस समस्यामै छन् । म व्यापारी, मारवाडी भन्दैमा मलाई बढी समस्या हुने होइन । पावर भएका नभएका सबै मानिसमा आफ्नो ठाउँमा टेन्सन चलिरहेकै हुन्छ ।

त्यसैले नब्बे प्रतिशत रोग डिप्रेसन टेन्सनले हुने हुँदा विहान ध्यानमा बस्ने गरेको छु । साढे पाँचदेखि साढे ६ बजेसम्म त म ध्यानै गर्छु । त्यसपछि योगा गर्छु । बिहान दिनको दुई–तीन घन्टा योगालाई दिन्छु । शरीर ठीक भयो भने मन ठीक हुन्छ । मन ठीक भयो भने शरीर ठीक हुन्छ । शरीर ठीक छैन भने ध्यान गर्न सकिँदैन । मन ठीक छैन भने व्यायाम गर्न सकिँदैन । त्यसैको कम्बिनेसन माइन्ड म्याटर जे भनौं, त्यसलाई मिलाउन मैले योगा गर्छु । मैले योगा गर्न थालेकोे सत्ताइस/अठ्ठाइस वर्ष भइसक्यो । मैले योगा शुरु गर्दा रामदेवको नाम नै थिएन ।

अध्ययन 

वीरगन्जको नेपाली मिडियमको सरकारी स्कुल त्रिजुद्ध स्कुलमा पढेको हुँ । ८ कक्षामा पढ्दा ९ रुपैयाँ फि थियो । त्यतिखेर अहिले सम्झिँदा हाँसो लाग्ने एउटा कुरा छ । म कक्षा ६ मा पढ्दा हाम्रो फि सात रुपैयाँ थियो । मेरो साथीले आर्थिक स्थिति कमजोर भएको हुँदा फि पचास प्रतिशत मिनाहा पाऊँ भनेर निवेदन लेखेको रहेछ । मैले पनि त्यो निवेदन हेरें । निवेदन लेखेपछि फि छुट पाइने रहेछ भनेर मैले पनि निवेदन लेखेर दिएँ । मेरो क्लास टिचर रमेशमान सरले मलाई हैट बेफकुब भन्दै गाली गर्नुभयो । त्यतिबेला पैसावाल मानिस पनि कम । तर हाम्रो स्थिति एकदम राम्रो थियो । चालीस सालअघि वीरगन्जको नगर सेट नै जस्तो थियौं हामी । त्यसपछि दुई वर्ष राँची गएर पढें । तीन वर्ष मुम्बई गएर बीकम पढे । बीकम पढ्दा कक्षामा गए पनि नगए पनि केही फरक नपर्ने । खालि डिग्रीका लागि मात्र पढ्नेजस्तो थियो । त्यो बेला पढाइमा अहिलेजस्तो प्रतिस्पर्धा थिएन । त्यसैले पढाइ सामान्य नै भयो । आफ्नो एउटा इन्टिलेक्च्युल प्रस्पेक्टिभ त सबैको हुन्छ । त्यसैले काम गर्नुपर्ने हुन्छ हामीले ।

पुस्तक 

anil kedia 2

म पुस्तक पढ्न सक्दिनँ । दुई पाना पढ्दा निन्द्रा लाग्छ । ध्यान गर्दा र आफ्नो काम गर्दा मेरो इनलाइटेन भनौं या भित्री अवेरनेस भनौ त्यसले काम गरेको हुन्छ । हरेक दिन पत्रपत्रिका मैले करिब–करिब अध्ययन गरेको हुन्छु । अहिलेको सामाजिक सञ्जालहरूमा पनि म अपडेट भइरहेको हुन्छु । अहिले मानिस पुस्तक पढ्न गाह्रो मान्छन् । जो कोहीलाई मोबाइलबाटै फुर्सद हुँदैन । धेरै न्युज त्यसमै आइरहेको हुन्छ । त्यही हिसाबले मैले आफूलाई अपडेट गरिरहेको हुन्छु । विद्यालय सञ्चालन गरेको हुँदा अहिलेका टिचर प्रिन्सिपलहरूसँग मेरो जुन डिस्कसन हुन्छ त्यसबाट प्राप्त हुने ज्ञान अन्य व्यापारीहरूले सायद पाउन सक्दैनन् । मैले हाई क्लासको एमबीए, बीबीए चलाइरहेको छु । त्यसरी पीएचडी गरेकाहरू हाइली प्रोफेसनल मानिससँग मेरो निरन्तर उठबस हुँने हुँदा म धेरै नै अपडेट हुने मौका पाएको छु । एमबीएमा नयाँ कोर्स के आयो, अमेरिकामा के भइरहेको छ, जापानमा के पढाइन्छ, के रिसर्चहरू आइरहेको छ, ती सबैमा म अपडेट भइरहेको हुन्छु । 

ठाउँ 

काठमाडौं नै मलाई विशेष मनपर्छ । संसार घुमेर फर्कंदा पनि काठमाडौकै मौसम राम्रो । भारतमा गयो अत्यधिक जाम र गर्मीले नै बस्न मन लाग्दैन । काठमाडौंमा आउँदा आफ्नो घरमै सबै मिलेको हुन्छ । यदि राजनीतिबाट बाहिर आएर यसलाई ठीक पार्ने हो भने काठमाडौंभन्दा राम्रो ठाउँ संसारमै बिरलै होला । हाम्रो मारवाडी समुदायमा पनि प्रायः सबैले यही भन्ने गर्छन् । 

फुर्सद 

म आफूलाई सकेसम्म फुर्सदमै राख्न खोज्छु । म बिजी भएँ भने मलाई लाग्छ म फसें । कहीं न कहीं म ट्र्यापमा परें । तीन बजे कही मिटिङ छ भने बिहानदेखि दिमागमा घुमिरहन्छ । तीन बजे त्यहाँ जानु छ । त्यसैले भरसक म यो बन्धनबाट मुक्त भएर बस्न चाहन्छु । ध्यानले नै बन्धनबाट मुक्त हुन सिकाउँछ । तर, समय पाउँदा रिल्याक्स भएर कफि सपमा गएर साथीहरूसँग कफि खाँदै गफ गर्न मन पर्छ । मलाई क्रिकेटको एकदम सोख छ । क्रिकेट इन्डियाको आयो भने जुन देशबाट खेले पनि म रातभरि बसेर हेर्छु । बढी न्युज, क्रिकेट, कफि सप, बढी फ्रि भएर एक्लै एन्जोय गर्न मन पर्छ । मलाई सहकर्मी साथीहरू, अफिसको स्टाफहरूसँग समय बिताउँदा बढी मज्जा आउँछ । 

खेलकुद 

खेल त पहिले धेरै खेलियो । अहिले त ज्यादा व्यायाम गर्छु । पहिले मलाई क्रिकेटमा रुचि थियो तर मलाई कहिले खेल्न आएन । बरु मैले ब्याडमिन्टन, भलिबल, क्यारमबोर्ड, टेबलटेनिस धेरै खेलें । 

मोबाइल 

मोबाइल चलाउन जुन सजिलो हुन्छ, जेमा हात बस्यो त्यही चलाउँदा राम्रो । नयाँ लिँदा फेरि टाउको दुखाउनुपर्ने हुन्छanil kedia । सामसुङमा मेरो हात सेट भएको छ । मलाई सामसुङ नै सजिलो लाग्छ । 

टेलिभिजन

७ बजे घरमा पुगेपछि तीन–चार घन्टा त टीभी नै हेरिन्छ । कहिले न्युज कहिले क्रिकेट हेरिन्छ । कहिले राम्रो मुभी आयो भने त्यो पनि हेर्छु ।

फिल्म 

कसैले यो मुभी राम्रो छ भन्यो भने हेर्न जान्छु । परिवारको सबैलाई मुभीमा इन्ट्रेस्ट छ । हल्लाको भरमा अथवा कुनै चर्चित अभिनेता अभिनेतृको भनेर गइँदैन । मुभी राम्रो छ भने जुन कलाकर भए पनि हेरिन्छ । 

रोग 

रोग टेन्सनले लाग्ने रहेछ । अहिले मलाई डाइबेटिज छ । 


गीत–संगीत 

अलिअलि सुन्छु । म बाथरुम सिंगर नै हो । मुकेश, किशोर कुमारको पुरानो गीतहरू अहिले पनि मन पर्छ । नयाँ सुफी गानाहरू धेरै मन पर्छ । 

घर

हामी जोइन्ट फ्यामलीमा बस्छौं । हाम्रो यो छैठौं पुस्ता हो । हामी राजस्थानबाट नेपाल आएका हौं । करिब एक सय चालीस वर्षभन्दा बढी भइसक्यो हामी नेपाल आएको । दुई–तीन रोपनी जग्गा जम्मा तीन–चार रुपैयाँमा हाम्रो बाजेले लिनुभएको रे । पहिले कालीमाटी पुरै खाली थियो । हामीमात्र एउटा मारवाडी परिवार असन, न्युरोडतिर गएनौ । त्यो एरिया पूरै जंगल थियो । हाम्रो बाजे यहाँ आएर किन बस्नुभयो होला भनेर हामीलाई अचम्म लाग्छ । त्यतिबेला असन, न्युरोडतिर घिरैया, खेतान, मित्तल बसे । हामीमात्र त्यहाँ बसेनौ । त्यसैले उताको संस्कृतिले हामीलाई त्यति छोएन । न्युरोड, असनतिर बस्ने मारवाडीहरू नेवारी पनि बोल्छन् । उनीहरूको लवज पनि नेवारहरूको जस्तो छ, हाम्रो त्यो भएन । उनीहरूको रहनसहन पनि नेवारहरूको जस्तो छ तर हामी कालीमाटीमा भएर होला त्यो हुन सकेन । 

राशी

मेरो वृष राशी हो । ज्योतिषविद्या पूरै विज्ञान भएको हुँदा म ज्योतिष विद्या मान्छु । जस्तो विवाहका लागि चिनाटिप्पन देखाउन यी सबै कुरा मान्छु म । 

प्रेम

केटा भएपछि प्रेम हुनु स्वाभाविक नै हो । तर, कुनै प्रेम पनि सफल भएन । पछि मेरो मागीविवाह नै भएको हो । तीन–चारजना केटीहरू मन परेको थियो । त्यो खालि आकर्षणमात्रै थियो । फेरि हामी परिवारको निर्णयविरुद्ध जान पनि नसक्ने । कुनै केटी मन पराए पनि ऊसँगै विवाह गर्छु भन्ने मनमा आउँदैनथ्यो । विवाह भनेको आमाबुवाले भनेकै गर्नुपर्छ भन्ने हाम्रो संस्कार थियो । आजभन्दा तीस वर्षअघि केडिया परिवारमा कसैको प्रेमविवाह भएकोजस्तो मलाई लाग्दैन । अहिले पनि ठूलो परिवारमा एक–दुइजना बाहेक सबैको मागीविवाह नै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री