शुक्रबार, ७ वैशाख २०८१

साल्ट ट्रेडिङलेको ५० औं साधारणसभाले पारित गर्यो २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश 

समयपोष्ट २०७४ असार २९ गते ११:१५

साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।  कर्पोरेशनले आर्थिक वर्ष २०७२/७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१/७२ भन्दा रु पाँच करोड १५ लाख बढी हो । कर्पोरेशनको बिहिवार सम्पन्न ५० औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सो बोनस र लाभांश दिने निर्णय गरेको हो । 

Advertisement

उपभोक्तालाई नून, चिनी, चामल, दाल, गेडागुडी, ग्यासलगायत अन्य खाद्यान्न अनुदान तथा गैरअनुदानमा मल बिक्री वितरण गर्दै आएको कर्पोरेशनले २०७३ सालमा भारतीय नाकाबन्दी र तराई आन्दोलनमा समेत रु छ अर्ब ८३ करोडको कारोबार गर्न सफल भएको थियो । 

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले यस वर्षको जेठ मसान्तसम्म रु सात अर्ब ५६ करोड ४८ लाख बराबरको कारोबार गरेको साधारणसभामा जानकारी दिइन । उनले सरकारको निर्देशन र सामाजिक उत्तरदायित्व बहन गर्नुपरेका कारण मूल्यभन्दा कम मूल्यमा सामान बिक्री वितरण गर्नुपर्ने बाध्यताले कर्पोरेशनले अपेक्षित मुनाफा आर्जन गर्न नसकेको बताइन । 

सरकारले कर्पोरेशनलाई अनुदानमा बिक्री वितरण गर्न अनुमति दिएको रासायनिक मलमध्ये हालसम्म युरिया मल ५० हजार मेट्रिक टन, डिएपी ५० हजार मेट्रिक टन, दुई हजार पाँचसय मेट्रिक टन पोटास मलमध्ये अधिकांश आयात भइसकेको र यसले मलको अभावलाई केही मात्रामा पूरा गर्ने साधारणसभामा जानकारी दिइएको थियो । 
 अनुदान रकमबाट आयात गरिएका रासायनिक मलको परिणाम कृषि बजारको आवश्यकताभन्दा कम रहेकाले कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा रासायनिक मल आयात गरी बिक्री वितरण सुरु गरेको छ । आगामी दशैँ तिहारजस्ता पर्वमा चिनीको अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन चिनी आयातको व्यवस्था मिलाइसकिएको कर्पोरेशनले जनाएको छ । 

साभारणसभामा शेयरधनी डमरुबल्लभ भट्टराई, ईश्वरदास कर्माचार्य, रामगोपाल महर्जन, राजेश शाक्य, वासुदेव पराजुलीलगायतले कर्पोरेशनलाई अझ प्रतिस्पर्धी, चुस्त बनाउँदै, व्यापार विविधिकरण गर्न सुझाव दिनुभएको थियो । उहाँहरुले दुर्गम गाउँमा नूनको अभाव हुन नदिन सुझाव दिए । 
कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेशनका वित्तीय अवस्था, लगानी, आय तथा व्ययको विवरण प्रस्तुत गरेका थिए । 

कर्पोरेशनले प्रमुख शहरमा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोल पम्प सञ्चालन गर्न नेपाल आयल निगम र कर्पोरेशनबीच द्विपक्षीय सम्झौता भइसकेको जानकारी दिइन।  यसैगरी कर्पोरेशनले सातवटै प्रदेशमा आफ्नो कार्यालय स्थापना गरी सेवा प्रवाह हुने जनाएको छ । 
कर्पोरेशनले आफ्ना डिपो कार्यालयका गोदाममा छ महिनाका लागि नून मौज्दात रहेको जनाएको छ । कर्पोरेशनका विभागीय प्रमुख ब्रजेशकुमार झाले गोदाममा ३७ हजार ८४७ क्विन्टल नून रहेको जानकारी दिए । सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत कर्पोरेशनलाई मात्र नूनको बिक्री वितरण गर्ने अनुमति दिएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री