बिहीबार, १३ वैशाख २०८१

नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

समयपोष्ट २०७५ साउन १३ गते ८:००

नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Advertisement

गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उहाँहरुले आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सिन्धुपाल्चोककाका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको र स्थानीयवासी सबैभन्दा बढी प्रभावित भएकामा गुनासो गर्नुभयो । उहाँले कोदारी राजमार्गको मर्मतसम्भारमा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गर्नुभयो ।

यस्तै सांसद उमा रेग्मीले भीमदत्त नगरपालिका–३ मा किशोरीलाई बलात्कार गर्ने दोषीलाई कडा कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले भूकम्पपीडितले घर तथा आवास निर्माणमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको ऋणको ब्याज पटक पटक बढाइएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले पीडितलाई थप पीडित बनाउने गरी बैंक तथा वित्तीय संस्थाले पटक पटक ब्याज बढाएको र ऋण तिर्न समेत ताकेता गरेकामा गुनासो गर्नुभयो ।

उहाँले डडेल्धुरामा निर्माणाधीन पुल निर्माण व्यवसायीको लापरवाहीका कारण भत्किएको भन्ने जानकारी आएकाले दोषीलाई कारवाही गर्न र आवश्यक जानकारी सदनलाई गराउन यातायातमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद विमलप्रसाद श्रीवास्तवले नेशनल मेडिकल कलेजलाई मोटो रकम कर छुट दिइएको भनी आपत्ति प्रकट गर्दै सम्बन्धित निकायले तत्काल छानबीन गर्न माग गर्नुभयो ।

गोलभेँडा निकासी रोकिएकामा आपत्ति

सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडा भारत निकासी हुन नसकेको र काँकडभिट्टा भन्सारमा रोकिएकामा गुनासो गर्नुभयो ।

उहाँले किसानको गोलभेँडा खेर जाने अवस्था आएको र भन्सारमा नै रोकेर समस्या खडा गरिएको छ भन्दै किन त्यस्तो भएको हो भन्ने बारेमा जानकारी दिन आग्रह गर्नुभयो । सांसद भरतकुमार शाहले प्रा डा गोविन्द केसीसँग भएको सम्झौताको अक्षरशः कार्यान्वयन गर्न माग गर्नुभयो ।

बलात्कारीलाई कारवाही माग

प्रतिनिधिसभाको बैठकमा कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ की हत्या गरिएकी किशोरीको परिवारलाई क्षतिपूर्ति दिन र दोषीलाई सर्वस्वसहित कडा कारवाही गर्न माग गरियो ।
सांसद भरतकुमार शाहले बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न र आगामी दिनमा त्यस्तो घटना दोहोरिने अवस्था आउन नदिन आवश्यक तयारीका लागि आग्रह गर्नुभयो ।

सांसद सुवालले समेत कञ्चनपुर बलात्कार प्रकरणको छानबीन गरी दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । सांसद रंगमती शाहीले पनि दोषीमाथि कारवाही गर्न आग्रह गर्नुभयो ।

सांसद सरिता गिरीले कञ्चनपुरको बलात्कार प्रकरणमा प्रमाण मेटाउने प्रयास गरिएको छ भन्दै गृहमन्त्रीलाई सदनमा घटनाक्रमका बारेमा जानकारी दिन माग गर्नुभयो ।

सांसद लक्ष्मी परियार र बिना बुढाथोकीले पनि बलात्कारको दोषीलाई कारवाहीको माग गर्दै आन्दोलितस्थानीयवासीमाथि प्रहरी प्रशासनले लठ्ठी प्रहार गरेकामा आपत्ति गर्नुभयो ।

पहिरोपीडितलाई राहत कहिले
सांसद भैरवबहादुर सिंहले पहिराका कारण बझाङ जिल्लाको आवतजावत बन्द भएको र स्थानीयवासी प्रभावित भएका छन् भन्दै जयपृथ्वीबहादुर राजमार्गको मर्मतमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले पहिराबाट खप्तड क्षेत्रमा एकै परिवारका चार जनाको निधन भएको, थलाला गाउँपालिकामा पनि सोही संख्यामा मृत्यु भएको छ भन्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गर्नुभयो । उहाँले पहिराले जलविद्युत् आयोजनाको बाँध बगाएका कारण सदरमुकामसमेत अन्धकार हुन पुगेकाले आयोजनाको मर्मतमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद रंगमती शाहीले जिल्लामा रहेका महिला विकास कार्यालय खारेज भएपछि महिला नै बढी प्रभावित भएकाले सो कार्यालयको उचित प्रबन्ध गर्न माग गर्नुभयो । सांसद हरि अधिकारीले ‘जनयुद्ध’का समयमा शहादत प्राप्त गरेका र बेपत्ता पारिएका नागरिकका परिवारले हालसम्म परिचयपत्र नपाएको बताउँदै तत्काल परिचयपत्र दिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले गोरखाका विभिन्न क्षेत्रमा बाढीपहिराका कारण जनजीवन प्रभावित भएकाले राहत तथा उद्धारको प्रबन्ध गरिनुपर्नेमा जोड दिनुभयो । सांसद नारायणप्रसाद खतिवडाले रसुवाको टिमुरेमा पहिराका कारण जनधनको क्षति भएकाले पीडित परिवारलाई राहत दिन अनुरोध गर्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री