शुक्रबार, १६ चैत २०८०

हराउन थाले रैथाने जातका बीउ

समयपोष्ट २०७५ साउन १० गते १०:५४

सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् ।

Advertisement

बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका बीउ हराउँदै गएका हुन् । जैविक विविधताको संरक्षणभन्दा पनि सरकारी र गैरसरकारी संस्थाको नीतिले उन्नत र हाइब्रिड बीउलाई प्रोत्साहन गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो ।

धेरै उत्पादन लिनका लागि हाइब्रिड र उन्नत जातको बीउ प्रयोग भए पनि स्थानीय जातमा रहेको विशिष्ट गुणका कारण तिनलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । सबै निकायले ठूलो फर्सी, ठूलो गाई वा धेरै अन्न फलाउने किसानलाई मात्रै सम्मान र पुरस्कृत गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “स्थानीय बीउ जोगाइराख्नका लागि भूमिका खेल्ने किसानलाई पनि प्रोत्साहन गर्न खाँचो छ ।”

नेपालमा अधिकांश किसान अन्न पर्याप्त मात्रामा फलाउनुपर्ने बाध्यताका कारण बिस्तारै स्थानीय बीउ रोप्न छाडेको नार्कले जनाएको छ । नार्क आफैँले पनि किसानका लागि रोगप्रतिरोधी क्षमता बढी भएका र बढी उत्पादन दिनसक्ने बीउ सिफारिश गर्दै आएको छ । कतिपय किसानले भने स्थानीय बीउमा भएका विशिष्ट गुणका कारण त्यसलाई छाडेका छैनन् ।

उहाँ भन्नुहुन्छ, “आफूले उन्नत बीउ नै रोप्ने किसानले स्थानीय जात हराउन नदिनका लागि नै सानो क्षेत्रफलमा थोरै परिमाणमा भए पनि वर्षेनी रोप्नुहुन्छ ।” कतिपयले मीठो स्वाद भएका, विशेष खाना बनाउन प्रयोग हुने वा खाएको लामो समयसम्म भोक नलाग्नेलगायतका गुण स्थानीय जातमा पाइन्छ । कुनै समयमा उन्नत जातका बीउमा ठूलै खालको समस्या आउँदा स्थानीय बीउमा भएको गुण ल्याएर क्रस गराउन सकिने नार्कका वैज्ञानिकले बताउँदै आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री