सुक्खाग्रस्त मधेशमा सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुली दिने प्राधिकरणको घोषणा
एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्न शाक्यको निर्देशन
नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइका लागि बिजुलीको मूल्यलाई ८ रुपैयाँ प्रतियुनिटबाट घटाएर ३ रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ। यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका विभिन्न जिल्लामा तत्काल ५०० बोरिङ खन्ने घोषणा गरेपछि आएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, र सर्लाही जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखहरूसँग छलफल गर्दै यो कुरा बताए। चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम पुगेका शाक्यले सिँचाइका लागि बोरिङमा विद्युत आपूर्ति गर्न प्राधिकरण पूर्णरूपमा तयार रहेको बताए।
“हामीले सिँचाइका लागि विद्युत आपूर्तिको तयारी गरेका छौँ, तर कहाँ-कहाँ र कति क्षमताको पम्प जडान हुन्छ भन्ने जानकारी सम्बन्धित निकायबाट आउन बाँकी छ,” शाक्यले भने। उनले बोरिङ जडानका लागि अबको एक महिनाभित्र काम सक्ने गरी तीव्र गतिमा लाग्न निर्देशन दिएका छन्।
मंगलबार जनकपुरधामस्थित प्राधिकरणको प्रादेशिक कार्यालयमा भएको छलफलमा शाक्यले एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्न मधेशका विद्युत कार्यालयहरूलाई निर्देशन दिए। उनले भने, “धान रोपाइँका लागि अब एक महिनामात्र बाँकी छ। यदि यो समयमा रोपाइँ भएन भने धान उत्पादन प्रभावित हुन्छ। त्यसैले एक हप्ताभित्र सबै तयारी पूरा गर्नुपर्छ।”
शाक्यले प्राविधिक र आर्थिक तयारीसँगै हिटर र ट्रान्सफर्मरको व्यवस्थापनमा पनि विशेष ध्यान दिन निर्देशन दिए। मिटर व्यवस्था, सेवा शुल्क, र स्थानीय पालिकासँग समन्वय गरेर काम गर्न उनले जोड दिए।
मधेशमा अकाशे पानीको अभावमा सिँचाइ नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सरकारले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी संघीय सरकारसँग सहयोगका लागि आग्रह गरेको छ। प्राधिकरणले माग आएको ठाउँमा एक हप्ताभित्र विद्युतीकरणको काम सुरु गर्ने तयारी गरेको छ।
“हामी किसानसँग प्रत्यक्ष संवाद गरेर बोरिङ जडानको अवस्था र आवश्यकता बुझ्न फिल्डमा खटिएका छौँ,” शाक्यले थपे। उनले सिँचाइका लागि आवश्यक पर्ने बिजुलीको माग र क्षमता तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
प्रतिक्रिया