नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो
पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ ।
मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो ।
गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएकोे थियो ।
आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७६/७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो ।
यसरी पछिल्लो छ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ ।
विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ ।
त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको राजस्व सङ्कलन पनि घटेको छ ।
सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ६० लाख ८० हजार ५७० राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा रु ६१ लाख ६९ हजार ३०० कम राजस्व हो ।
सोही आवमा उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता, नवीकरण, प्रतिलिपीलगायतका शीर्षकमा रु दुई करोड ६० लाख ८० हजार ५७० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा विभिन्न शीर्षकमा सो कार्यालयले रु तीन करोड २२ लाख ४९ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया