बुधबार, १४ साउन २०८२

इप्पानद्धारा सिडिएससीको संस्थापक समूहको सेयर अभौतिकरण प्रस्तावको विरोध

समयपोष्ट २०८२ साउन १३ गते १६:२४

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) को सञ्चालक समितिले हालै गरेको सेयर सूचीकरण सम्बन्धी निर्णयले नेपालको पुँजी बजारमा नयाँ विवाद सिर्जना गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सिडीएससीको यो प्रस्तावले लगानीकर्ताहरुमा अन्योल र निराशा पैदा गर्ने भन्दै कडा विरोध जनाएको छ।सिडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै इन्टरनेशनल सेक्युरीटीज आईडेन्टीफिकेसन नम्बर (आईएसआईएन) नम्बर जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाएको छ। यो प्रस्तावले संस्थापक समूहको सेयर अभौतिकरण प्रक्रियालाई लम्ब्याउने र सेयर संरचनालाई जटिल बनाउने इप्पानको ठहर छ।

मंगलबार जारी विज्ञप्तिमा इप्पानले सिडीएससीको प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ। ‘यो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र सर्वसाधारणमा अन्योलता र निराशा पैदा गरेको छ। यो कदम प्रचलित कानून र अन्तर्राष्ट्रिय अभ्यासविपरीत छ,’ इप्पानले भनेको छ।

इप्पानका अनुसार, यो प्रस्ताव कार्यान्वयन भएमा स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीमार्फत आउने लगानी र प्रत्यक्ष वैदेशिक लगानीमा कठिनाइ उत्पन्न हुनेछ। ‘नेपालको लगानी वातावरणप्रति वैदेशिक लगानीकर्ताहरुमा आशंका बढ्नेछ। विदेशी लगानीकर्ताले आफ्नो सेयर बेचेर लगानी फिर्ता लिन नसक्ने अवस्था सिर्जना हुन सक्छ,’ इप्पानले थपेको छ।

यो प्रस्तावले सरकारको वैदेशिक लगानी प्रवद्र्धन नीति, पुँजी बजारको सुदृढीकरण र समग्र आर्थिक सुधारका लक्ष्यमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानको दाबी छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री