वर्षा नभएपछि स्थानीयले सांसदलाई समातेर बनाए हली
सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।
त्यसपछि उहाँहरुलाई गाउँलेले हलो जोत्न लगाए । अझ रोचक त महिलाहरु नै हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन् ।
त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन् । स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो । सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ । खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।
महिलाहरुले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पु-याएका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताउनुभयो ।
मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ । “गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,” सांसद चौधरीले भन्नुभयो ।
कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको जनाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो । यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
प्रतिक्रिया