बुधबार, १४ साउन २०८२

नेप्से परिसूचक ४ वर्षयताकै उच्च विन्दुमा, चार स्टक सकारात्मक सर्किट लेभलमा

समयपोष्ट २०८२ साउन १३ गते १५:४७

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि बढेर बन्द भएको छ। सोमबारको वृद्धिको लयलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३,००२.०७ विन्दुमा पुगेको छ। यो सन् २०७८ भदौ १३ पछि नेप्सेले छोएको उच्च विन्दु हो, जब परिसूचक ३,०४४.८७ विन्दुमा बन्द भएको थियो।

नेप्से परिसूचकमा वृद्धि भए पनि मंगलबार कारोबार रकम भने घटेको छ। सोमबार १९ अर्ब ३६ करोडको शेयर कारोबार भएको बजारमा मंगलबार ३२१ कम्पनीको १ लाख ५७ हजार ५२५ पटकको कारोबारमा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार चार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरले सकारात्मक सर्किट लेभल हासिल गरेको हो। त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने माइ खोला हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यसैगरी, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ८.६० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ग्रीन भेन्चर्सको ६४ करोड र नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ मध्ये ११ उपसमूहको परिसूचकमा वृद्धि भएको छ भने ३ उपसमूहको परिसूचकमा सामान्य गिरावट देखिएको छ। अन्य उपसमूहको परिसूचक २.५८ प्रतिशतले सर्वाधिक बढेको छ। बैंकिङ्ग, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचकमा भने सामान्य कमी आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री