प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी मंगलबार कैलालीको लम्कीमा एकापसमा ठोक्किएर दुर्घटनामा परेको छ। रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी जाँदै गरेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी लम्की बहुमुखी क्याम्पस नजिकै दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० नम्बरको कालो रङको गाडी अगाडि थियो। उक्त गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न अचानक ब्रेक लगाएका थिए। सोही समयमा पछाडिबाट तीव्र गतिमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो रङको गाडी कालो गाडीमा ठोक्किएको थियो।
दुर्घटनाका कारण कानुनमन्त्री हिरासिंह सार्की सवार रातो गाडीको अगाडिको भाग पूर्णरूपमा क्षतिग्रस्त भएको छ, जसले गर्दा उक्त गाडी चल्न नसक्ने अवस्थामा पुगेको छ। यस्तै, भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल सवार कालो गाडीको पछाडिको भागमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। दुवै मन्त्री सुरक्षित रहेका छन्। उनीहरूले अर्को गाडीको व्यवस्था गरी प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन चिसापानी पुगेका छन्।
प्रतिक्रिया