बुधबार, १४ साउन २०८२

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

समयपोष्ट २०८२ साउन १३ गते १३:४५


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन्। मंगलबार भएको संसदीय दलको मतविभाजनमा लामाले पराजय भोगेका हुन्। मतविभाजनमा लामाको पक्षमा १५ सांसदले मात्र समर्थन जनाए भने इन्द्रबहादुर बानियाँको पक्षमा २२ सांसदले हस्ताक्षर गरे। बागमती प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन्, जसमध्ये बहुमतका लागि १९ सांसदको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। यो प्रस्तावलाई कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेतृत्व गरेका छन्। अविश्वास प्रस्तावमा २२ सांसदले हस्ताक्षर गरेका छन्। यसअघि, शुक्रबार २१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। मंगलबार खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएर बानियाँको पक्षमा उभिएपछि बानियाँको पक्षमा एक सांसद थपिए।

यसअघि, ९ साउनमा चार मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री लामाले ती चार मन्त्रीलाई पदमुक्त गरेर रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरी अविश्वास प्रस्तावको सामना गर्ने रणनीति बनाएका थिए। तर, संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब बढेको छ।

मंगलबारको मतविभाजनमा बानियाँको पक्षमा २२ सांसद उभिए। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी माया श्रेष्ठले भने आफ्नो हस्ताक्षर कीर्ते भएको दाबी गर्दै लामाको पक्षमा उभिएको बताएकी थिइन्। यद्यपि, मतविभाजनमा बानियाँको पक्षमा थप एक सांसद उभिएपछि लामाको स्थिति कमजोर बनेको हो।

नेपाली कांग्रेस बागमती प्रदेशका सचिव कृष्ण लामाले मतविभाजनको नतिजा घोषणा भएको बताए। उनले भने, “यो बैठक अविश्वास प्रस्ताव पारित गर्न मात्रै बसेको थियो। अब संसदीय दलको नेता चयनका लागि छिट्टै अर्को बैठक बस्नेछ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री