धानचामल आयातमा उल्लेख्य वृद्धि, एक वर्षमा ४० अर्ब रुपियाँभन्दा बढी बाहिरियो
नेपालमा खाद्यान्न उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि स्थानीय उत्पादनले माग पूरा गर्न नसक्दा धानचामल आयातका लागि ठूलो रकम बाहिरिएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड रुपियाँ बराबरको धानचामल आयात भएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा झन्डै दोब्बर हो, जुन वर्ष २२ अर्ब २२ करोड रुपियाँको धानचामल आयात भएको थियो। भारतले चामल निर्यातमा सहज नीति अपनाएकाले गत आवमा आयात बढेको तथ्याङ्कले देखाएको छ।
गत आवमा २१ अर्ब ५२ करोड २७ लाख ८४ हजार रुपियाँ बराबरको ५३ करोड ३७ लाख १५ हजार २५९ केजी धान आयात भएको छ। अघिल्लो आवमा १२ अर्ब ९४ करोड १० लाख ८८ हजार रुपियाँ बराबरको ३२ करोड ११ लाख १९ हजार ३१३ केजी धान आयात भएको थियो। यस्तै, गत आवमा १८ अर्ब ६६ करोड ५९ लाख ३१ हजार रुपियाँ बराबरको २४ करोड १५ लाख ५३ हजार ३२५ केजी चामल आयात भएको छ। अघिल्लो वर्ष यो परिमाण नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपियाँ बराबरको आठ करोड ८७ लाख २३ हजार ५०६ केजी थियो। आर्थिक वर्ष २०७९/८० मा भने ३६ अर्ब ५० करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आवमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। तर, मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक पर्छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा वार्षिक १० लाख मेट्रिक टन धान र छ लाख मेट्रिक टन चामल अपुग हुने गरेको छ। मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले भारतले धानचामल निर्यातमा खुकुलो नीति अपनाउँदा आयात बढेको बताउनुभयो। उहाँका अनुसार मसिनो बास्नादार चामलको बढ्दो प्रयोग र स्थानीय उत्पादनको कमीले आयात दोब्बर भएको हो।
पछिल्लो समय खेतीयोग्य जमिनलाई प्लटिङ गरी घडेरीमा परिणत गरिनु र युवा जनशक्ति वैदेशिक रोजगारीमा जानुले खाद्यान्न उत्पादनमा कमी आएको छ। मन्त्रालयका अनुसार प्रतिव्यक्ति वार्षिक १३३ केजी चामल आवश्यक पर्छ। यो माग पूरा गर्न स्थानीय उत्पादन अपर्याप्त छ। नेपालमा भारत, चीन, अर्जेन्टिना, दक्षिण अफ्रिका, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड, मलेसियालगायतका देशबाट धानचामल आयात हुने गरेको छ।
प्रतिक्रिया