शनिबार, २८ असार २०८२

मुलुकको अर्थतन्त्र एक वर्षमा ४ खर्बले बढ्यो

समयपोष्ट २०८२ असार २६ गते १४:४२

Advertisement

अर्थ मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको अर्थतन्त्र गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ४ खर्बले वृद्धि भएको छ। गत आर्थिक वर्षमा ५७ खर्ब रहेको अर्थतन्त्र चालु आर्थिक वर्षमा ६१ खर्ब पुगेको छ।

तथ्यांकअनुसार एक वर्षको अवधिमा राजस्व १ खर्ब ८ अर्बले बढेको छ। त्यस्तै, पूँजीगत खर्चमा पनि गत वर्षको तुलनामा ३६ अर्बले वृद्धि भएको छ। निजी क्षेत्रमा प्रवाह भएको कर्जा ८.७ प्रतिशतले बढेको छ, जुन गत वर्ष ५.६ प्रतिशतले मात्रै बढेको थियो। रेमिट्यान्समा पनि १५.५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको मन्त्रालयले जनाएको छ।

गत वर्षको तुलनामा निर्यात ७७.८ प्रतिशतले र आयात १३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मान्दा अर्थतन्त्रका १८ वटा क्षेत्रका सूचकहरू सकारात्मक रहेको मन्त्रालयले उल्लेख गरेको छ। यी क्षेत्रहरूमा यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन समावेश छन्।

अर्थ मन्त्रालयका अनुसार मुलुकभित्र लगानीमैत्री वातावरण बन्दै गएको छ। नीतिगत तथा कानूनी सुधारमा उल्लेखनीय प्रगति भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१, निजीकरण (पहिलो संशोधन) ऐन, २०८१, भन्सार महसुल ऐन, २०८१, र बैंकिङ कसुर तथा सजाय ऐन, २०८२ जस्ता ऐनहरू अघि बढाइएको छ। त्यस्तै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेश भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री