मंगलबार, ३१ असार २०८२

मालिकाका चार वडामा बिजुली

समयपोष्ट २०८१ साउन १५ गते १८:५२


म्याग्दीको मालिका गाउँपालिकाका चार वटा वडाका साढे पाँच सय घरधुरीमा केन्द्रीय लाइनको विद्युतीकरण भएको छ ।

Advertisement

मालिकाको वडा नम्बर १, छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, खतेन र ४ नम्बर वडाको ओखरबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिका–२ रुम, बेली, जेम, घ्याङ्लेपानीमा २५६, मालिका–३ खतेनमा ५०, लुप्सीपारमा ५४, मालिका–४ ओखरबोटमा १०२ घरमा बिजुली बलेको जानकारी दिनुभयो ।

“मालिका–१ छिस र रिठेचौरका ११७ घरधुरी मध्ये ३५ वटा बाहेकका घरमा पनि मिटर जडान गरेर बिजुली बालिएको छ”, उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका चार वटा वडामा बिजुली बालिएको हो ।”

घ्याङ्लेपानी बाहेकका बस्तीका बासिन्दाले यसअघि उज्यालोका लागि लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गरेका थिए । विद्युत्को कुनै स्रोत नभएको घ्याङ्लेपानीका बासिन्दाहरुले सोलार र टुकी प्रयोग गर्दथे ।

Advertisement

वर्षौको प्रयासपछि बिजुली बलेपछि स्थानीयवासीमा खुसियाली छाएको मालिका–२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार रुममा पोल गाडेको र तार तानेको चार वर्षपछि बिजुली बलेको हो ।

केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयवासीलाई घरायसी कामकाज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय र औँला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका ११५ घरधुरीमा भने एक वर्षअघि विद्युत् विस्तार भएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि ४७ दशमलव ६ किलोमिटर मुख्य, एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रवीन्द्र/ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सोही ठेक्कामार्फत मुख्य, शाखा लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैँले गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ११ ठाउँमा एक हजार चार सय ३८ उपभोक्ता थपिएका नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार आठ सय २१ विद्युत्का ग्राहक पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री