सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री शुरु
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजबाट थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गरेको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट गत असार २३ गते कम्पनीले एफपीओ निष्कासन गर्न अनुमति पाएको थियो । कम्पनीले २०८० साल भदौ १८ गते ४६ हजार ७३० कित्ता एफपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारीगरेको हो । साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको रुपमा सञ्चालनमा छ । कम्पनीको एफपीओ खरिदका लागि आगामी साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन १८ गतेसम्म आवेदन दिन पाइने छ ।
सीआस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरिदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया