बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच कट्ठा क्षेत्रफलमा फैलिएको विद्यालय आकर्षक छ । यस आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि ८ सम्म शतप्रतिशत दलित समुदायका विद्यार्थीमात्रै अध्ययनरत छन् ।

Advertisement

२०४५ सालमा स्थापना भएको यो विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारका अनुसार सरदार, हरिजन र राम जातिबाहेकका अन्य विद्यार्थी छैनन् । नर्सरीमा मात्रै १२० जना विद्यार्थी भर्ना भएका छन् । मोरङमा एउटै विद्यालयको बाल कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी यो नै भएको दाबी गरिएको छ । २०७३ सालदेखि विद्यालयको प्रधानाध्यापकको भूमिकामा रहनुभएका सरदारका अनुसार अहिले प्रोत्साहन पाइरहेको यो विद्यालयको स्थापना रवि सरदारले निजी जग्गा उपलब्ध गराएर गर्नुभएको थियो । आफ्नै बाजेले धर्मभकारी मासेर स्थापना गरेको विद्यालयमा उहाँकै पनाति (चौथो पुस्ता)ले प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएको छ । उहाँ सोही विद्यालयको पूर्वविद्यार्थी हुनुहुन्छ ।

आफूले जिम्मेवारी सम्हाल्दा अति न्यून सङ्ख्यामा मात्रै विद्यार्थी रहेकोमा स्थानीय तह स्थापनापछि अभिभावकलाई सचेत गराउँदै भर्ना अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । त्यसपछि विद्यार्थी बढेको हो । ग्रामथान–२, कटहरी गाउँपालिका–५, विराटनगर–१९ विद्यालयको सेवा क्षेत्र पर्छ, जहाँ सरदार, हरिजन र राम जातिको बाहुल्य छ । ग्रामथान–२ का वडाध्यक्ष यादवप्रसाद खतिवडाका अनुसार विद्यालयमा आवश्यक भौतिक संरचना विस्तार भइरहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुईकोठे पक्की भवन निर्माण चलिरहेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री