तीव्र गतिमा घट्दै जग्गाको मूल्य

सितापाइला रामकोट क्षेत्रको एउटा प्लटिङमा जग्गाको मूल्य प्रतिआना १७ लाख रूपैयाँ तोकिएको छ । केही समयअघि त्यही ठाउँमा प्रतिआना २० देखि २५ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको थियो ।

Advertisement

ललितपुर ठेंचोमा पनि प्रतिआना १७ लाख रूपैयाँमै जग्गा किन्न पाइन्छ । केही समयअघिसम्म उक्त क्षेत्रमा जग्गाको मूल्य २२ देखि २५ लाख रूपैयाँ थियो ।
भक्तपुर चागुनारायण क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिआना १२ देखि १६ लाख रूपैयाँसम्ममा झरेको छ । केही समयअघिसम्म त्यहाँ पनि प्रतिआना २० लाख रूपैयाँ घटीमा जग्गा पाइँदैनथ्यो ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले उपत्यकामा जग्गाको मूल्य तीव्र गतिमा घटिरहेको छ । केही समयअघिसम्म कुना काप्चाको जग्गा पनि प्रतिआना २५ लाख रूपैयाँसम्ममा किनबेच हुने गरेकोमा अहिले भने चक्रपथबाट २/३ किलोमिटर मात्रै बाहिर पनि प्रतिआना १७ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको छ । तर, यसरी मूल्य घटेर विक्रीमा राखिएका जग्गा आर्थिक समस्या भएका जग्गाधनीका मात्रै हुन् । ‘जसलाई आर्थिकरूपमा कुनै समस्या छैन, उनीहरूलाई जग्गा बेच्नु नै छैन,’ मेघना रियल इस्टेटका सञ्चालक एमके राउतले आर्थिक अभियानसँग भने, ‘जसलाई जग्गा बेच्नु छ, ऊ कुनै न कुनैरूपमा आर्थिक संकटबाट गुज्रिएको छ ।’

बजारमा जग्गाको आपूर्ति बढेको तर किन्ने मान्छे थोरै भएकाले मूल्यमा चाप परेको व्यवसायीहरूले बताएका छन् । जग्गा किनबेचसम्बन्धी एक तथ्यांकले पनि पछिल्लो समय जग्गाको कारोबार घटेको देखाउँछ । तथ्यांक अनुसार गत कात्तिकमा काठमाडौंमा ७५ हजार जग्गा किनबेच हुने गरेको थियो । गत जेठमा भने त्यो संख्या ५५ हजारमा झरेको छ । असारमा त्यो संख्या अझै घट्न सक्छ । तथ्यांक अनुसार असारमध्यसम्ममा २२ हजार जग्गा खरीदविक्री भएका थिए । यस आधारमा असारमा ४४ हजार जग्गाको कारोबार हुने देखिन्छ । आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री