शनिबार, ८ वैशाख २०८१

भाडा वृद्धि सहित खुल्यो सार्वजनिक यातायात

समयपोष्ट २०७७ असार २६ गते ७:४४

Advertisement

बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ ।
बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिनुभयो । सरकारको निर्णयअनुसार अब काठमाडौँ उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ । दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ । तर यातायात व्यवसायी भने सरकारको निर्णयप्रति अन्योल देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ट्याक्सी र छोटो दूरीको भए पनि खुला गर्नु सकारात्मक भएको तर स्वास्थ्य सावधानीको अवस्था के हुने अन्योल भएको जनाएको छ ।
महसङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “५० प्रतिशत भाडा वृद्धि गरेर सामाजिक दूरी कायम गर्नु ठीक छ तर बैङ्कको किस्ता र ब्याजको भुक्तानी अवधिबारे केही भनिएन । हामीले भोगेका समस्याको समाधान भएको छैन । गाडी निकाल्दैमा हाम्रो समस्या समाधान हुँदैन । ” लामो दूरीको सवारीको भाडाबारे स्पष्ट हनुपर्ने महासङ्घले जनाएको छ । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “ट्याक्सीको सवालमा सरकारको निर्णय ठीक छ तर हामी के गर्ने भन्ने कुरा भोलि १ः०० बजे आकस्मिक बैठक बोलाएका छौँ, महासङ्घले बैठक बसेर निर्णय गर्छ । सरकारले आफ्नोतर्फबाट गरेको प्रयास राम्रो छ । ”

५० प्रतिशत भाडा वृद्धि
कोरोना भाइरसको बन्दाबन्दीको अवधि वा सवारीसाधनमा आधा यात्रु चढाउन्जेल ५० प्रतिशत भाडा वृद्धि गरेर लिन पाउने निर्णय भएको छ । सुरक्षाका लागि सामाजिक दूरी कायम गर्न सरकारले सो भाडादर वृद्धि गरेको हो । व्यवसायीको मागअनुसार सरकारले भाडा वृद्धि गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

खुल्यो ट्याक्सी
सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गरेको छ । मन्त्रिपरिषद्ले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । प्रवक्ता डा. खतिवडाले ट्याक्सी सञ्चालन खुला गरिएको बताउनुभएको हो । ट्याक्सीमा चालकसहित तीन जना यात्रु सवार गर्न पाइने र एकै परिवारका सदस्य भए पाँच जना यात्रा गर्न पाइनेछ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर आफूहरूले ट्याक्सी सञ्चालन गर्ने उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा प्रकाशित यो समाचार लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री