शुक्रबार, ७ वैशाख २०८१

केटा मान्छेको पर्सनालिटी मन पर्छ, तर, ड्रिम बोई बारे सोंचेकी छैन

समयपोष्ट २०७४ असार १६ गते ५:२२

हल्का कालो वर्णकी, ओठमा चक्लेट कलरको लिपिस्टिक लगाएकी, परेलामा थोरै मस्कारा लगाएकी । त्योभन्दा बढी मेकअप उनको फेसमा थिएन । डार्क अरेन्ज कलरको वानपिस, ब्ल्याक कलरको क्लोज सु उनको दुब्लो पातलो शरीरमा मिलेकै थियो तर पनि झट्ट हेर्दा उनी मलाई खासै आकर्षक लागिनन् । अन्तर्वार्ताका लागि मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरमा उनलाई भेट्दा मेरो नजरले सुरुवातमा मन पराउन इन्कार गरेकी उनी हुन्– मिस नेपाल निकिता चन्दक ।

Advertisement

नजिकै बसेर उनीसँग कुरा गर्र्दैैगर्दा उनको बोल्ने र हाँस्नै शैली ठ्याक्कै भारतीय नायिका दीपिका पादुकोणको जस्तो लाग्न थाल्यो । एकछिन अघिसम्म मेरो नजरमा राम्रीको लिस्टमा समेत नपरेकी उनी केही छिनपछि त दीपिकाजस्ती पो देखिन थालिन् । कुरैकुरामा मैले पनि भनिहालें– मलाई तपार्ईं दीपिका पादुकोणजस्तो लाग्यो । उनले पनि उत्साही हुँदै थपिन्, ‘अँ मलाई प्रायः सबैले त्यही भन्छन् । अब तपार्ईं पनि थपिनुभयो । स्कुल पढ्दा टिचरहरूले पनि तिमी दीपिकाजस्तो देखिन्छ्यौ भन्नुहुन्थ्यो ।’ उनले दिल्लीको एक प्रसंग सुनाउँदै भनिन्, ‘म एउटा मलमा सपिङ गर्न गएको मलभित्र म आइरहेको देखेर एक व्यापारी दीपिका उनको पसलमा आउँदै गरेको ठानेर निकै आत्तिएछन् । जब म उनको पसलभित्र छिरें उनी निकै नर्भस देखिन्थे । जब म दीपिका होइन भन्ने उनले चिने, त्यसपछि उनले मलाई भने मैले तपार्ईंलाई दीपिका भन्ठानेको । कस्तो डर लागिरहेको थियो ।’ 

जब उनी मिस नेपालको ट्रेनिङमा सहभागी थिइन्, उनलाई सेकेन्ड दीपिका भनेर बोलाइन्थ्यो । सबैको नजरमा भारतीय अभिनेतृ दीपिका पादुकोणजस्ती भनेर चिनिने यी मिस नेपाल भर्खर बीस वर्षकी मात्र भएकी छन् । करिब ८० वर्षअघि यिनका पितापुर्खा भारतको राजस्थानबाट मोरङको उर्लाबारीमा बसाइँ सरेको थियो । मारवाडी समुदायकी उनी निकै सादा र सरल छिन् ।

प्रमिला बानियाँ/समयबोध 

nikita 3

मिस नेपाल अगाडिको तपाईंको परिचय दिनुस् न ?

मिस नेपाल हुनुअघि म एक व्यावसायिक मोडल हुँ । १९९६ सेप्टेम्बर १५ मोरङको उर्लाबारीमा जन्मिएको हुँ । मेरो बाल्यकाल उर्लाबारीमै बित्यो । क्लास थर्ड र फोर्थ स्ट्यान्डर्ड मैले भारतको सिलगुढीबाट गरे । फोर्थ स्ड्यान्डर्ड सकाएपछि म नेपालमै फर्किएर पढ्न थालें । मैले ९ देखि १२ कक्षा राजस्थानमा पढेकी हुँ । त्यसपछि म बीबीए गर्न ब्यांग्लोर गएँ । छ महिना क्राइस्ट कलेजमा पढेपछि मैले कलेज छोडिदिएँ र मोडलिङ करिअर सुरु गरें । मैले मोडलिङ सुरुवात गरेको करिब डेढ वर्ष भयो । मैले भारतमा अलिकति रिजेक्सन पाइरहेकी थिएँ । सोही समय मैले टीजीईएफ नेपाल फेसन विकबारे थाहा पाएँ । म त्यसकै अडिसनका लागि नेपाल आएँ र सेलेक्ट पनि भएँ । यही बेला मिस नेपाल पनि भयो । 

मिस नेपाल भएपछि एकाएक सेलिब्रेटी हुनुभयो । कस्तो अनुभव भइरहेको छ ?

फरक अनुभूति भइरहेको छ । मिस नेपाल हुनुभन्दा पूर्व अन्नपूर्ण होटलमा हाम्रो तीन दिनको क्याम्प भएको थियो । हामीसँग बाहिर सम्पर्क गर्नका लागि फोन केही थिएन । त्यो दिनभन्दा अगाडि आफ्नो इन्स्टाग्राममा हेर्दा दुई हजार पाँच/सात सय फलोअर्सहरू थिए । होटलबाट निस्किएपछि एक दिनपछि मैले इन्स्टाग्राम चेक गर्दा फलोअर्सहरू पच्चीस हजार पुगेका थिए । अहिले पैंतीस हजार पुगेका छन् । अहिले फ्यान फलोइङ पनि छ । बाटोमा हिँड्दा मानिसले चिन्छन् । ऊ मिस नेपाल भनेको सुन्छु । त्यसले राम्रो र अलिकति फरक अनुभूति भएको छ । 

मिस नेपाल हुन्छु भन्ने कत्तिको विश्वास थियो ?

हामी सबै मिस नेपालका १९ जना प्रतिस्पर्धीहरू सबैमा मिस नेपाल हुन्छु भन्ने विश्वास हुन्छ । तर, क्रमिक रूपमा त्यो विश्वासमा उतारचढाव आउन थाल्छ । ट्रेनिङको समय धेरै कुरामा मार्किङ हुन्छ । धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यो समय यति तनाव हुन्छ कि कन्फिडेन्स लेभल नै फ्लक्चुयट हुन्छ । ला म यो गर्न सक्दिनँ होला । म हुदिनँ होलाजस्तो हुन्छ । तर, अन्तिम दिन जुन २ मा मैले केही सोच्नै सकेकी थिइनँ । म एक्साइटेड पनि थिइनँ । मलाई केही फिल नै भइरहेको थिएन । आज शो हो भनेर डर पनि लागेको थिएन । जब कि एक दिन पहिला भने म एकदम डराएकी थिएँ । ला भोलि नै हो, कस्तो हुन्छ होला, के हुन्छ होला भनेर । तर, शोको दिन बिहान उठ्ने बित्तिक्कै त्यस्तो केही फिलिङ भएन । मैले नतिजा जस्तो आए पनि त्यो म स्वीकार गर्छु भन्ने सोचें । भनिन्छ नि जे हुन्छ राम्रैका लागि हुन्छ । मैले त्यसलाई राम्रै तरिकाले लिन्छु भनेर आफ्नो माइन्ड सेट गरिसकेकी थिएँ । 

के कारणले मिस नेपालमा भाग लिने इच्छा जाग्यो ?

म नेपालमात्र टीजीआईएफ फेसन विकका लागि आएकी थिएँ । तर, त्यहाँ मेरो र्याम्प वाकहरू, मेरो कन्फिडेन्स लेभल हेरेर मलाई धेरैले प्रशंसा गरिरहनुभएको थियो । संयोगले हिडेन ट्रेजरकै डिरेक्टर पनि त्यहीं हुनुहुँदोरहेछ । मैले कसैलाई चिन्दैनथें । मैले मिस नेपाल अश्मी श्रेष्ठलाई पनि चिन्दैथें । हामी सबैजना सँगै डिनर गरिरहेका थियौं । त्यहाँ सबैलाई म इन्डियन मोडल भन्ने लागिरहेको रहेछ । सबैले त्यसरी नै कुरा गर्दा मैले म आफू नेपाली नै भएको बताएँ । त्यसपछि उनीहरूले र अरू धेरैले मलाई मिस नेपालमा भाग लिन भने । त्यो बेला पनि म मिस नेपालमा भाग लिन्छु भन्ने सोचेकी थिइनँ । म आफूलाई मिस नेपालका लागि तयार छु जस्तो लाग्दैनथ्यो, सबैको आग्रहपछि मैले मेरो परिवार र दिदीहरूसँग कुरा गरें । मैले भनेधेरैले मलाई मिस नेपालमा भाग लिन सक्छौ, भाग लिउ“ भनिरहेको छ, म के गरौं, म अहिले तयार पनि छैन भने, अनि दिदीहरूले मलाई त डाइरेक्ट शोका लागि जाने होइन । धेरै तालिम हुन्छ । धेरै कुरा सिकेपछि अन्तिममा शो हुने हो । टपमै नपुगे पनि तैंले धेरै कुरा सिक्छेस् । त्यसैले तँ जा भन्नुभयो । म त्यही माइन्ड सेटले अडिसनमा गएकी थिएँ । तर, फेरि ट्रेनिङमा आउँदा म गरेर देखाउँछु भनेर एउटा विश्वाससाथ नै आएकी थिएँ । 

तपाईं मोडलिङतिर लागेको मान्छे, सौन्दर्य प्रतियोगितामा आउनुभयो, मोडलिङ र सौन्दर्यको तपाईं कसरी परिभाषा, गर्नुहुन्छ ?

मोडलिङमा हामी कुनै पनि प्रडक्टको प्रमोट गर्छौं । त्यसको विज्ञापन गर्छौं । मोडलिङमा हामीले जे प्रमोट गरिरहेका हुन्छौं, त्यसलाई हेरिन्छ । सौन्दर्य प्रतियोगितामा भने त्यो सबै हामी सम्बन्धित हुन्छ । हामी आफू के हो भन्ने कुरा सौन्दर्य प्रतियोगितामा अरूमाझ देखाउँछौ । मलाई सौन्दर्य प्रतियोगिता भनेको मोडलिङ नै हो भन्ने लागिरहेको थियो तर यो फरक कुरा हो । 

nikita 4

यहाँसम्म आउन के–के संघर्ष गर्नुपर्यो, परिवारबाट कत्तिको सहयोग मिल्यो ?

मोडलिङमा आउन मैले मेरो परिवारलाई अलिकति कन्भिन्स गर्नुपर्ने थियो । अभिभावकलाई म मोडलिङमा जान्छु कसरी भन्ने भनेर डर लागिरहेको थियो । तर, त्यो मेरो दिदीले भन्नुभयोे । अनि मेरो परिवारले तिमीलाई जे गर्न मन लाग्छ गर तर तिमी नराम्रो बाटोमा नलाग भन्नुभयो । म परिवारको त्यही भनाइलाई आत्मसात् गर्दै आएकी हुँ । मेरो अभिभावकलाई म कता जान्छु के गर्छु सबै थाहा हुन्छ । अभिभावकबाट पाउने साथ सहयोग पाउन मलाई खासै कठिनाइ भएन । तर, हाम्रो समाजमा छोरी मान्छेले अन्तिममा विवाह नै गर्नुपर्छ भन्ने हुने रहेछ । धेरैले यो पनि भनेका थिए– अब यो मोडलिङतिर लागेपछि योसँग कसले विवाह गर्छ । तर, मैले कसैलाई केही भन्नु परेन । मेरो अभिभावकले नै मेरो बच्चाहरू जहिलेसम्म सही बाटो हिँड्छन्, जे मन लाग्छ गर्छन् । हामी रोक्दैनौ भन्नुभयो । तर, मिस नेपालको प्रतिस्पर्धामा आएपछि धेरै आफन्तले साथ दिनुभयो । सहयोग गर्नुभयो । आफन्तमात्र नभई सम्पूर्ण नेपालीकोे सहयोग पाएँ । अहिले माइन्ड सेट चेन्च भयोजस्तो लाग्छ । 

नेवार वर्चश्व तोड्दै पहिलोपटक मारवाडी समुदायबाट मिस नेपाल हुनुभयो, मारवाडी समुदाय वा तपाईं तराईको मान्छेलाई भारतसंग जोड्ने गरिन्छ, तपाईंलाई पनि त्यही आलोचना भएको छ, के लाग्छ तपाईंलाई ?

म भारतीय भनेर धेरै आलोचना भएका छन् । तर, मिस नेपालको अडिसन दिनुभन्दा अघि हामीले हाम्रो नागरिकता देखाउनुपर्छ । म नेपाली नभई मैले मिस नेपालमा भाग लिनै पाउँदिनँ । तराईको, मारवाडी समुदायको वा अन्य कुनै धर्म अथवा जातको हुँदैमा मेरो नेपाली भन्ने परिचय त बदलिँदैन । मैले अब मेरो देश नेपाललाई अन्तर्राष्ट्रिय प्लाटफर्ममा चिनाउँदै छु । मेरो आलोचना होइन समर्थन गर्नुहोस् । मलाईमात्र होइन नीति, रोजिना, सहारा हामी सबैलाई आम नेपालीको साथ र सहयोगको आवश्यकता छ । आमनेपालीको साथ र सहयोग पाए हामीले अन्तर्राष्ट्रिय ताज घरमै भित्र्याउन सक्छौ । 

तपाईंलाई के कारणले भारतीय भनेर आलोचना गरिएको होला ?

म मारवाडी परिवारको भएकाले पनि म भारतीयजस्तो देखिन्छु नै । मेरो परिवार भारतबाट नेपालमा बसाइँ सरेर उर्लाबारी आएको ८० वर्षजति भइसकेको छ । मेरो बुवा उर्लाबारीमै जन्मनुभयो । म पनि त्यहीं जन्मिएँ । मेरो सम्पूर्ण परिवारसँग नेपालको नागरिकता छ । म उर्लाबारीकै पशुपति बोर्डिङ स्कुलमा अध्ययनरत थिएँ । कक्षा ८ को अन्तिम परीक्षा दिनेक्रममा तराई–मधेसमा भएको आन्दोलनका कारण धेरै दिन विद्यालय बन्द भयो । पढाइ बिग्रने डरले मलाई अभिभावकले राजस्थान लगेर पढाउने निर्णय गर्नुभयो । अन्तिम ६ वर्ष म अध्ययनको क्रममा भारतमै थिएँ । मेरो लुक्स, रंग तथा बोलीको लवज र मोडलिङ पनि भारतबाटै सुरुवात गरेकाले पनि हुन सक्छ मलाई भारतीय भनिएको । 

भारतीय कस्तो भन्दा  कस्तो फिल हुन्छ ?
मलाई त्यो आलोचना नै निरर्थक लाग्छ । आलोचना यस्तो कुरामा होस्, जहाँ सुधारको आवश्यकता हुन्छ । मैले सुधार गर्नुपर्ने कुनै कुरामा मेरो आलोचना हुन्छ भने म त्यो कुरामा अगाडि जानसक्छु । त्यो मेरा लागि सकारात्मक पाटो पनि हुन सक्छ । तर वर्ण, लवजजस्ता कुरालाई लिएर आलोचना हुन्छ भने त्यसले मेरा लागि कुनै अर्थ राख्दैन । म त्यसमा ध्यान नै दिन्न । त्यसले मलाई केही फरक पार्दैन । 

मिस नेपाल हुनुभयो, यसपछिका तपाईंका योजना के छन् ?

अहिले त मेरो खालि इन्टरभ्यु अनि सुट्समात्र भइरहेको छ । तर, अबको मेरो पहिलो जिम्मेवारी भनेको मिस वल्र्ड फ्याजेन्टका लागि कडा तयारी गर्नु नै हो । मैले विश्वसामु नेपाललाई रेप्रिजेन्ट गर्नुपर्छ त्यो निकै नै ठूलो जिम्मेवारी हो । त्यसपछि सामाजिक कामहरूमा पनि मेरो जिम्मेवारीहरू छन् तर त्यसका लागि अरू बढी योजनाहरू बनाएरमात्र लागू गर्नुपर्ने हुन्छ । 

मिस नेपाल प्रायः चलचित्र क्षेत्रमा जाने गर्छन, तपाईंको सोच के छ, ?

मानिसले मिस नेपाल चयन हुनेबित्तिकै अब चलचित्र क्षेत्रमै जान्छन् भन्ने गर्छन् । मेरो स्कुल पढ्दादेखिकै कलाकारिता क्षेत्रमा जाने ठूलो सपना थियो । मैले याक्टिङ क्षेत्रमा एकपटक जसरी नि कोसिस गर्छु भन्ने सानैदेखि सोचेकी थिए । तर, मलाई याक्टिङ गर्न आउँछ कि आउँदैन त्यो त म भन्न सक्दिनँ तर म कोसिस गर्छु । म टीजीएफ फेसन विक सकिएपछि याक्टिङतिर कसरी लाग्ने, कोर्सहरू कसरी गर्ने, अडिसनहरू कताकता दिने भन्ने योजना बनाएर अगाडि बढ्छु भनेर नेपाल आएकी थिएँ । 

राजनीति पनि समाजसेवा गर्ने ठाउँ हो, यतातिर आउने सोच पनि छ कि ?

राजनीति मात्र समाजसेवा गर्ने ठाउँ हो जस्तो मलाई लाग्दैन । हामीले एक्लै ठूलो परिवर्तन ल्याउन सक्दैनौ होला तर हामीले आफ्नो ठाउँबाट सानो–सानो कुरामा परिवर्तन ल्याउन सक्यौं भने त्यो निकै सहयोगी हुन्छ । सामाजिक विकासका लागि राजनीतिमै जानुपर्छजस्तो मलाई लाग्दैन । मलाई मनोरञ्जन क्षेत्रमा रुचि छ । त्यसबाट पनि सामाजिक क्षेत्रमा मैले सहयोग गर्न सक्छु, अलिकति परिवर्तन ल्याउन सक्छु जस्तो लाग्छ । राजनीतिमै जाने मेरो कुनै रहर छैन । 

अब पढाईलाई कसरी अगाडि बढाउनुहुन्छ ?

मैले अहिले ब्याच्लर इन कमर्समा करेस्पोन्डेन्स गरिरहेकी छु । पढाइ भन्ने कुरा डिग्री हासिल गर्नु मात्र होइन । मैले गरिरहेको याक्टिङ कोर्स पनि पढाइ नै हो । त्यो फरकखालको ज्ञान, क्षमता हासिल गर्ने फरक ठाउँ हो । याक्टिङ कोर्स गर्ने र डान्सहरूतिर पनि लाग्छु होला ।

अन्तरंग कुराकानी

nikita chandak 2

तपाईंको विचारमा पूर्ण खुसी के हो ?

मैले मिस नेपाल भएको दिनदेखि के सिकें भने पूर्ण खुसी भनेको आफ्नो भित्रि सन्तुष्टि हो । त्यसका लागि रिजल्टलाई हेर्नुहुँदैन । रिजल्ट सोचेर जानुहुँदैन । तर, कसरीे उत्कृष्ट दिने भनेर सोच्नुपर्छ । मैले शतप्रतिशत इफोर्ट दिन्छु भनेर अगाडि लाग्नुपर्छ । आफ्नो ठूलो सपना हुनुपर्छ । त्यहाँबाटै खुसी अनि सन्तुष्टिको अनुभूति आउँछ । 

सवैभन्दा बढी खुसी कहिले र कहाँ हुनुभयो ?

मलाई स्कुल लेभलदेखि नै जुन कुरा एकदम चाहिरहेको हुन्थ्यो । त्यो कुरा प्राप्त गरेपछि ओहो मैले पाए भन्ने हुँदैन थियो । ठिकै छ, मैले पाए भन्ने हुन्थ्यो । मिस नेपाल पनि त्यस्तै भयो । धेरैले मलाई मिस नेपाल भएपछि तिमी किन रोएनौ भनेर सोधे । म मिस नेपाल भएपछि मलाई त्यस्तै भयो ओके आई गट दिस । मेरो सब कन्सियस माइन्डमा ठिकै छ । यो पाएँ अब अरू गर्नु छ भन्ने भयो । त्यही भएर त्यस्तो इमोसन्स नआएको हो । त्यसैले त्यस्तो अत्यन्तै खुसी भएको कुनै क्षण छैन । 

तपाईंको पर्समा कति पैसा हुन्छ ?

मेरो त यात्रामा कति खर्च लाग्छ त्यति हुन्छ । मम्मीले जति दिनुहुन्छ त्यति हुन्छ । अहिले प्लास्टिक मनि, कार्ड प्रयोग गर्छु । त्यो धेरै सजिलो हुन्छ । 

धेरै खर्च केमा गर्नुहुन्छ ?

सपिङमा धेरै खर्च गर्छु । 

बढी डर लाग्ने कुरा के हो ?

मान्छेबीचमा कसरी बोल्ने भन्ने डर लाग्छ । तर, त्यो पनि चेन्ज हुँदै छ । अहिले इन्टरभ्युमा बोल्दा एकदम सहज महसुस हुन्छ । मिस नेपाल हुने दिनमा बोल्दा पनि एकदम सहज महसुस भएको थियो । अनि अर्को डर भनेको मलाई आफन्तको मृत्युको डर लाग्छ । 

सबैभन्दा बढी माया गर्ने व्यक्ति ?

म मेरो परिवारको हरेक व्यक्तिलाई एकदम माया गर्छु । 

तपार्ईंसंग मात्र भएको कुनै विशिष्ट प्रतिभा ?

मलाई लाग्छ– सबैसँग केही न केही फरक प्रतिभा हुन्छन् । तर, मेरो सन्दर्भमा भन्नुपर्दा म हेरेर छिट्टै सिक्न सक्छु । मलाई कसैले गरेको केही कुरा मन प¥यो भने त्यो टिपिहाल्न सक्छु । सायद त्यो फरक होला अरूभन्दा । 

आफूसंग भएको कुनै चीज परिवर्तन गर्न पाए के परिवर्तन गर्नुहुन्थ्यो ?

म एकदम बढी सोच्ने मान्छे हुँ । जस्तो केही चीज भेट्टाए भने मैले किन पाएँ, कसरी पाएँ, यो कसरी भयो होला भनेर अति सोच्छु । त्यसले थप टेन्सन दिन्छ । त्यसैले धेरै सोच्ने बानी परिवर्तन गर्थें । 

अहिलेसम्म गरेको सबैभन्दा ठूलो गल्ती ?

त्यो त याद छैन । 

कस्तो पहिरनमा हट देखिन्छु जस्तो लाग्छ ?

मलाई खासै हट देखिन मन लाग्दैन । मलाई राम्री देखिन मन पर्छ । कपडा किन्दा मलाई यसमा राम्री देखियो भन्ने लाग्यो भने म त्यो किन्छु । म सबै किसिमका पहिरन रुचाउँछु । 

बाहिरी सुन्दरता राम्रो कि भित्री किन ?

भित्री सुन्दरता राम्रो । मैले भर्खरै मात्र एउटा कोट पढेकी थिएँ कि ‘पिपल वन्ट रिमेम्बर द मस्ट व्युटिफुल फेस, पिपल विल रिमेम्बर द मस्ट व्युटिफुल हार्ट यान्ड द सोल ।’ पहिलो इम्प्रेसन हाम्रो लुक्सबाट जान्छ तर जब उसको आनीबानी थाहा हुन्छ । त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ । 

दिनमा कतिपटक ऐना हेर्नुहुन्छ ?

धेरैपटक हेर्छु । त्यस्तो यतिपटक भन्ने छैन । ऐना नभएको ठाउँमा फोनको क्यामेराबाट पनि हेर्छु । 

प्रेम के हो ?

प्रेममा म आजसम्म परेको छैन । तर, परिवारसँगको माया अनकन्डिस्नल हुनुपर्छ । एक–अर्कामा विश्वास, इमानदारी, समझदारी हुनुपर्छ । अनि जुन केटा र केटीबीचको प्रेम हुन्छ, त्यसमा मलाई के लाग्छ भने एकपटक भेट्ने बित्तिकै प्रेम हुँदैन । एक–अर्कालाई बुझ्नका लागि समय लाग्छ । लामो समयपछि मात्र एक–अर्कासँगै अघि बढ्न सकिन्छ कि सकिँदैन भन्ने थाहा हुन्छ । त्यसपछि मात्र प्रेम अघि बढ्छ जस्तो लाग्छ । सायद त्यही भएर म आजसम्म प्रेममा परिनँ । 

प्रेम प्रस्ताव पनि आए होलान् हैन ? 

प्रेम प्रस्ताव धेरै आए  तर एउटा पनि स्वीकारिनँ । मैले कसैलाई याक्सेप्ट गरेको छैन । प्रपोजल आउनेबित्तिकै यास आई लाइक यु, आई लभ यु हुन्छ जस्तो मलाई लाग्दैन । एक–अर्कालाई बुझ्नुपर्ने हुन्छ, जान्नुपर्ने हुन्छ । त्यत्तिकै हुँदैन । त्यसकारण मेरो ब्वाइफ्रेन्ड पनि छैन । 

केटा मान्छेको मन पर्ने कुरा ?

आनीबानी र पर्सनालिटी 

ड्रिम बोई कस्तो होस् भन्ने चाहनुहुन्छ ?

ओ गड त्यो त केही सोचेको छैन । म एकदम करिअर ओरियन्टेड छु । 

बिहे कहिले गर्ने ?

बिहे सायद तीस/पैंतीसतिर होला । 

मलाई मन पर्छ

nikita chandak 1

ठाउ
घर 

पहिरन
जुन पहिरन भए पनि ऐना हेर्दा म राम्री देखिएकी छु जस्तो लाग्यो भने मलाई त्यही मन पर्छ । 

खाना
फ्रुट्स 

रंग
कालो

नेपाली फिल्म
नाम याद छैन 

नायक/नायिका
त्यस्तो विशेष कोही छैनन् । फिल्मको चरित्रअनुसार र याक्टिङअनुसार सबै मन पर्छ । 

 नेपाली गीत
 याद छैन 

 घडी
 म घडी लगाउँदिनँ

पर्फ्युम
म पर्फ्युम प्रयोग गर्दिनँ 

मोबाइल
अहिले जियोनी प्रयोग गरिरहेकी छु । 

अटो मोबाइल
आफ्नो छैन

सामाजिक सञ्जाल
फेसबुक, इन्स्टाग्राम, वाट्स्याप, भाइबर 

बुक

मेरो मनपर्ने बुक भनेको द सिक्रेट । किनभने त्यसले मलाई फ्रस्ट्रेसन फेजबाट बाहिर निकालेको हो । मलाई पोजेटिभ बनाउने भनेकै त्यही बुक हो ।

 

 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री