प्रभु साहले संसद्को रोष्ट्रममै च्याते निजामती विधेयक
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले संसदमा विचाराधीन निजामती सेवा विधेयकले नेपाली समाजको तल्लो तहका नागरिकको अवसर खोस्ने भन्दै तीव्र विरोध जनाएका छन्। आइतबार संसदको रोष्ट्रममा उभिएर उनले विधेयकको प्रति च्यात्दै यसले गरिब र सीमान्तकृत समुदायलाई लोकसेवा आयोगको अवसरबाट वञ्चित गर्ने दाबी गरे।
“यो विधेयकले गरिब, दलित र श्रमिक वर्गलाई लोकसेवामा प्रवेश गर्नबाट रोक्ने काम गरेको छ,” साहले भने, “जबसम्म सबै नागरिकलाई समान अवसर सुनिश्चित हुँदैन, यो विधेयक हामीलाई स्वीकार्य हुँदैन।” उनले निजामती सेवामा तल्लो तहका कर्मचारीहरूको सुरक्षा र सम्मानको ग्यारेन्टी नभएको भन्दै विधेयकले सामाजिक न्यायको सिद्धान्तलाई कमजोर बनाएको आरोप लगाए।
साहले विधेयकले तल्लो तहमा कार्यरत कर्मचारीहरूको योगदानलाई अवमूल्यन गरेको बताए। “ट्वाइलेट सफा गर्ने, पिउनको काम गर्ने, ड्राइभरको जिम्मेवारी लिने कर्मचारीको कामलाई कमजोर ठान्ने यो विधेयकले उनीहरूको आत्मसम्मानमाथि प्रहार गरेको छ,” उनले थपे। “यी कामहरूले पनि समाज चल्छ, तर यो विधेयकले तिनको योगदानलाई बेवास्ता गरेको छ।”
उनले प्रश्न उठाए, “के ती कर्मचारीको जीवन, उनीहरूको परिवारको भविष्य महत्वपूर्ण छैन? यो विधेयकले गरिबलाई थप पछाडि धकेल्छ।”
विधेयकको प्रति च्यात्दै उनले भने, “यो कागजले नेपाली जनताको सपनालाई च्यात्ने काम गरेको छ। म यस्तो अन्यायको साक्षी बन्न सक्दिन।” उनले अन्य सांसदहरूलाई पनि विधेयकको समर्थन नगर्न आग्रह गर्दै बैठक बहिष्कार गरे।
प्रतिक्रिया