शुक्रबार, २० असार २०८२

न्यूयोर्कमा आदिवासी जनजातिको सांस्कृतिक साँझ भव्य रूपमा सम्पन्न

समयपोष्ट २०८२ असार १५ गते ९:०९

Advertisement

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपालका विभिन्न आदिवासी जनजातिहरूले आफ्नो मौलिक संस्कृति प्रस्तुत गरी सांस्कृतिक साँझलाई भव्य बनाएका छन्। नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले न्यूयोर्कको उडसाइडमा शुक्रबार आयोजना गरेको वृहत सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिका समुदायहरूले आफ्नो मौलिक नृत्य र संस्कृति प्रस्तुत गरेका थिए।

कार्यक्रममा तामाङ सेलोमा डम्फु र टुंगनाको तालमा नाचिएको ‘सोई ढोले सोई’ ले नेपालको सांस्कृतिक विविधतालाई जीवन्त बनायो। त्यस्तै, कुमारी नृत्य, शेर्पा नृत्य र मगर संस्कृति झल्काउने नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाए। सहभागीहरू आ-आफ्नो मौलिक भेषभूषामा सजिएर उपस्थित भएका थिए, जसले कार्यक्रमको रौनक थप्यो।

औपचारिक कार्यक्रमभन्दा फरक शैलीमा आयोजित यो सांस्कृतिक साँझमा प्रस्तुत गरिएका प्रदर्शनहरूलाई नेपाली तथा अमेरिकी दर्शकहरूले उत्साहपूर्वक अवलोकन गरे। कार्यक्रमले नेपालको कला, संस्कृति र परम्परालाई अमेरिकामा जीवन्त राख्ने प्रयासलाई प्रस्ट्यायो।

Advertisement

सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) न्यूयोर्कको सबैभन्दा ठूलो नेपाली संस्थाको रूपमा स्थापित छ। यसले १८ वटा विभिन्न जातीय संस्थाहरूलाई आफ्नो छाता मुनि समेटेको छ। सन् २००७ मा ग्लोबल जनजाति महासंघबाट नेपाल आदिवासी जनजाति महासंघको रूपमा परिणत भएको यो संस्थाले नेपालको कला, संस्कृति, भेषभूषा, परम्परा र भाषाको संरक्षण, सम्वर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। साथै, नेपालमा विभिन्न परिस्थितिमा सहयोग प्रदान गर्दै आएको छ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालित यो सांस्कृतिक साँझको समन्वय र व्यवस्थापन महासचिव दिपक चौधरीले गरेका थिए। न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा डिस्ट्रिक ३० का काउन्सिलम्यान रोबर्ट होल्डेनले फिप्नालाई ‘सर्टिफिकेट अफ रिकग्निसन’ प्रदान गरे।

अध्यक्ष गुरुङले अमेरिकामा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै दोस्रो पुस्तालाई समेत आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने बताए। उनले भाषा र संस्कृतिको पुस्तान्तरणलाई अहिलेको प्रमुख चुनौतीको रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

महासचिव दिपक चौधरीले सबै संघसंस्थालाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्दै फिप्ना सधैं नेतृत्वका लागि तयार रहेको बताए। उनले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्ने स्थानीय संघसंस्था र फिप्नाका सदस्य संस्थाहरूलाई धन्यवाद दिए।

कार्यक्रमको स्वागत फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामाले गरेका थिए। समापनमा कलाकार र प्रायोजकहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। समापन समारोहमा अध्यक्ष गुरुङले आगामी जुलाई ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवस आयोजना हुने जानकारी दिँदै यसलाई ऐतिहासिक बनाउन सबैलाई सहभागिताको आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री